मुद्दापछि अमेरिकाको मिसिगनमा पीएचडी गरिरहेका नेपाली विद्यार्थीको भिसा पुनर्स्थापित


प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार

अमेरिकाको मिसिगन राज्यमा रहेका वेन स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ मिसिगनमा अध्ययनरत चार जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विद्यार्थी भिसा पुनर्स्थापित भएको छ। उनीहरूको भिसा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत अप्रिलमा खारेज गरेको थियो।

अमेरिकन सिभिल लिबर्टिज युनियन का अनुसार यी चार विद्यार्थीहरूमध्ये एक जना नेपाली विद्यार्थी ३२ वर्षका योगेश जोशी पनि हुन्। उनले वेन स्टेट युनिभर्सिटीमा सन् २०२१ को अगस्टदेखि एनाटोमी र सेल बायोलोजीमा पीएचडी गरिरहेका छन्।

योगेश जोशीसहित भारतका चिन्मय देओरे, चीनका सियाङयुन बु र किउयी याङले भिसा खारेज भएपछि ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए। उनीहरूले आफ्नो भिसा अचानक र गैरकानुनी रूपमा, कुनै पूर्वसूचना वा वैध कारणबिना खारेज गरिएको आरोप लगाएका थिए।

भिसा खारेजी हचुवा र त्रुटिपूर्ण पृष्ठभूमि जाँचमा आधारित रहेको अमेरिकन सिभिल लिबर्टिज युनियनको भनाइ थियो। तर, सरकारले भने स्टेट डिपार्टमेन्टलाई भिसा खारेज गर्ने अधिकार रहेको र कारणहरू आफ्नो विवेकमा निर्भर हुने तर्क गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो भिसा पुनर्स्थापित भएपछि विद्यार्थीहरूले मुद्दा फिर्ता लिएका छन्। पीएचडी गरिरहेका जोशीको भिसा खारेजीले उनको शैक्षिक यात्रा र भविष्यमा ठूलो अनिश्चितता ल्याएको थियो। तर अमेरिकन सिभिल लिबर्टिज युनियनको कानुनी सहयोग र संघर्षपछि भिसा पुनर्स्थापित भएको छ। अब उनले अध्ययनलाई निरन्तरता दिन पाउने भएका छन्।

गत अप्रिलमा अमेरिकामा अध्ययनरत झन्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका थिए। तीमध्ये केहीले अमेरिका छाडिसकेका छन्।

केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो।

खसोखासले सेभिज खारेज गरिएका कम्तीमा आधा दर्जन सूचनाहरूको पुनरावलोकन गर्दा अधिकांश सूचनाको भाषा लगभग उस्तै भए तापनि केहीमा भने विद्यार्थीहरूलाई तुरुन्त अमेरिका छाड्न समेत भनिएको थियो। सूचनामा सेभिज आई-२० रेकर्ड समाप्त गरिनुमा अन्य कारण उल्लेख गरिएको थियो, जसमा व्यक्तिको आपराधिक रेकर्ड जाँचमा पहिचान भएको वा उनको भिसा रद्द गरिएको कारण सेभिज रेकर्ड खारेज गरिएको उल्लेख थियो।

कलेजका अन्तर्राष्ट्रिय शिक्षा कार्यालयहरूले यो भिसा रद्द गर्ने र कानुनी रेकर्ड जाँच गर्ने नयाँ दृष्टिकोण भएको उल्लेख गर्दै यसबाहेक आफूहरूसँग हाल यस अवस्थाबारे धेरै जवाफहरू नभएको सूचनामा जनाएका थिए र यस्तै खारेजीहरू देशभर भइरहेको बताएका थिए।

खसोखासले पुनरावलोकन गरेको दूतावासले विद्यार्थीलाई पठाएको एक कागजातमा भिसा जारी भएपछि थप जानकारी प्राप्त भएको भन्दै अमेरिकाको अध्यागमन र राष्ट्रियता ऐनको धारा २२१(आई) अनुसार विद्यार्थी भिसा रद्द गरिएको उल्लेख गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com