परिवारमा आधारित ग्रीनकार्ड फाइल मितिमा स्थिरता, भिसा मितिमा सामान्य प्रगति
प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालयअन्तर्गत ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिनअनुसार परिवारमा आधारित कुनै पनि श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ।
ग्रिनकार्डवाहकका अमेरिकाभित्र हुने दम्पती र २१ वर्ष नपुगेका छोराछोरीहरूले ग्रिनकार्ड फाइल गर्न सक्ने प्राथमिकता मिति मे महिनामा १ फेब्रुअरी २०२५ रहेकोमा जुनमा पनि सोही मिति कायम भएको छ। अर्थात् १ फेब्रुअरी २०२५ भन्दा अगाडि आई-१३० फाइल गरेकाहरूले मात्र जुन महिनामा ग्रिनकार्ड आवेदन आई-४८५ फाइल गर्न सक्नेछन्।
त्यस्तै, अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति जुनमा पनि क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ नै रहेको छ।
त्यस्तै, अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि परिवर्तन भएको छैन। अर्थात् १ जुन २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले जुन महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्।
अमेरिका बाहिर हुनेहरूका सन्दर्भमा भने भिसा अन्तर्वार्ता वा आप्रवासी भिसा पाउन सक्ने मितिमा सामान्य अग्रता कायम भएको छ। अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन सक्ने प्राथमिकता मिति १ सेप्टेम्बर २०१७ कायम भएको छ। यो मिति मे महिनामा १५ मार्च २०१६ रहेको थियो।
त्यस्तै, अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका विवाहित छोराछोरीको सन्दर्भमा मे मा भिसा पाउने प्राथमिकता २२ जुलाई २०१२ कायम भएको छ। यो मिति मे महिनाका लागि १ अप्रिल २०११ रहेको थियो। ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा पनि ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा थोरै अग्रता कायम भएको छ। यो मिति जुन महिनामा २२ सेप्टेम्बर २०१६ कायम रहेको छ।
अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा भने फेरबदल भएको छैन। यो मिति जुनमा पनि १ जनवरी २००८ नै कायम छ। ग्रिनकार्डवाहकका दम्पती र २१ वर्ष नपुगेका छोराछोरीहरूले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा पनि फेरबदल भएको छैन। यो मिति जुनमा पनि १ जनवरी २०२२ नै कायम छ।