अमेरिकाद्वारा सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउने घोषणा


प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लागु गरिएका प्रतिबन्धहरू हटाउने निर्णय गरेका छन्। उनले यो कदम “सिरियालाई महान बन्ने मौका दिने” भन्दै असद शासन पतनपछि बनेको नयाँ सरकारले देशलाई पुनः निर्माण गर्ने अवसर पाउनेछ भनेका छन्।

यो निर्णय सिरियाका नयाँ राष्ट्रपति अहमद अल शराअको सरकारको लागि ठूलो कूटनीतिक जितको रूपमा हेरिएको छ। असद शासन पछिल्लो वर्षको डिसेम्बरमा पतन भएको थियो ।

ट्रम्पले यो घोषणा साउदी अरबको रियाधमा भएको लगानी सम्मेलनमा गरेका हुन्। उनले भने, “सिरियाले धेरै वर्षदेखि पीडा, युद्ध, र नरसंहार भोगेको छ। त्यसैले मेरो प्रशासनले अमेरिका र सिरियाबीच एक दशकपछि पुनः सम्बन्ध स्थापना गर्न पहिलो कदम चालेको हो।”

उनले यो निर्णय साउदी युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनसँगको छलफलपछि लिएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प बुधबार अल शराअलाई अनौपचारिक रूपमा रियाधमा भेट्ने कार्यक्रम रहेको ह्वाइट हाउस स्रोतले जनाएको छ। यो ट्रम्प प्रशासन र नयाँ सिरियाली सरकारबीच अहिलेसम्मकै उच्चस्तरीय सम्पर्क हुने बताइएको छ।

हालसम्म अमेरिकाले अल शराअ सरकारलाई औपचारिक रूपमा मान्यता दिएको छैन । कूटनीतिक सम्बन्ध पनि पुनः स्थापना भएको छैन । तर तल्लो स्तरमा सम्पर्कहरू भने भइरहेको स्रोतहरूले बताएका छन्।

सिरियाका विदेश मन्त्री असआद अल शैबानीले अमेरिकी प्रतिबन्ध हटाउने निर्णयलाई स्वागत गर्दै “पुनर्निर्माणतर्फको नयाँ सुरुआत” भनेका छन्।

युरोपेली संघ र बेलायतले यस वर्षको सुरुवातमा सिरियामाथि लगाइएको केही प्रतिबन्ध हटाएका छन् ।

अमेरिकी रणनीतिक विशेषज्ञ नताशा हलले यो घोषणा केवल अल शराअ को होइन, साउदी युवराजको लागि पनि कूटनीतिक जीत हो भनेकी छन ।

ट्रम्पले सार्वजनिक रूपमा यो कुरा गरेर अन्य मुलुकहरूलाई पनि सिरियालाई पुनः अवसर दिन सकिने संकेत दिएका उनको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com