साउदी अरेबियाको विश्वविद्यालयले महिलाका लागि सवारी चालनसम्बन्धी स्कुल खोल्ने


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ ।

साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ ।

सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा जनाइएको छ ।

उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो । महिलालाई सवारी चालनसम्बन्धी अध्ययन र अभ्यास गराउन सो स्कुल खोल्ने जानकरी गराइएको हो ।

गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गर्नुभएको थियो । उक्त घोषणाको कार्यान्वयन आगामी जुन महिनादेखि मात्र हुनेछ ।

साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् ।

विश्वका कार उत्पादक कम्पनीहरुले पनि सरकारको यो निर्णयको स्वागत गर्दै साउदी अरेबियाको सडकमा दशौँलाख महिलाले सवारी चलाउन पाउने अवसरका लागि साउदी महिलालाई बधाई पनि ज्ञापन गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com