भारत-पाकिस्तान तनावबीच अमेरिकाको प्रतिक्रिया – ‘नजिकबाट नियालिरहेका छौं’
प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार
Secretary of State Marco Rubio attends a National Day of Prayer event in the Rose Garden of the White House, Thursday, May 1, 2025, in Washington. (AP Photo/Evan Vucci)
भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले परिस्थितिको नजिकबाट निगरानी गरिरहेको बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै रुबियोले भने, ‘म भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छु। म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो चाँडै अन्त्य हुनुपर्छ भन्ने टिप्पणीसँग सहमत छु र शान्तिपूर्ण समाधानको लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता जारी राख्नेछु।’
यो बयान भारतले ‘अप्रेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीर (पीओके) मा आतंकवादी स्थानहरूमा हवाई हमला गरेको केही घण्टापछि आएको हो। भारतीय सेनाले यो कारबाही २२ अप्रैलमा जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा गरेको दाबी गरेको छ, जसमा २६ सर्वसाधारणको मृत्यु भएको थियो।
यता, पाकिस्तानी सेनाले भारतीय हमलामा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको दाबी गरेको छ। बीबीसीसँगको कुराकानीमा पाकिस्तानी सेनाले यी हमलाहरूलाई ूअनुचित आक्रमणू को संज्ञा दिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले कडा शब्दमा प्रतिक्रिया जनाउँदै भने, ‘पाकिस्तानलाई भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ।’ उनले अमेरिकी विदेशमन्त्री रुबियोसँगको फोन वार्तामा भारतको ‘उत्तेजक व्यवहार’ ले क्षेत्रीय स्थिरतालाई जोखिममा पारेको आरोप लगाए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो तनावलाई ‘लज्जास्पद’ भन्दै चाँडै समाधान हुने आशा व्यक्त गरेका छन्। उनले भने, ‘भारत र पाकिस्तान लामो समयदेखि लडिरहेका छन्, तर मलाई आशा छ कि यो छिट्टै समाप्त हुनेछ।’
भारतले भने आफ्नो कारबाही ‘सटीक र आतंकवादी ठिकानाहरूमा केन्द्रित’ रहेको दाबी गरेको छ। भारतीय दूतावासले वाशिंगटनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि पाकिस्तानी नागरिक, सैन्य वा आर्थिक संरचनालाई निशाना बनाइएको छैन।’
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्। कतार, साउदी अरब र कुवेतले पनि कूटनीतिक समाधानको पक्षमा वकालत गरेका छन्।
यो तनावले दक्षिण एसियाको शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरिरहेको छ।






