२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा ६१० नेपालीको रोजगारमा आधारित ग्रीनकार्ड निवेदन स्वीकृत

आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा ६१० जना नेपालीको रोजगारमा आधारित ग्रीनकार्ड निवेदन स्वीकृत भएको छ। युएससीआईएसका अनुसार अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा ती नेपालीहरूको आई-१४० आवेदन स्वीकृत भएको हो। जसमध्ये सबैभन्दा धेरै रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रीनकार्डका लागि आई-१४० आवेदन पेस गर्नेहरू रहेका छन्।

युएससीआईएसका अनुसार पहिलो ३ महिनामा २६ जना नेपालीको असाधारण क्षमताको ग्रीनकार्ड (ईबी-१) निवेदन स्वीकृत भएको छ। त्यसैगरी, १०७ जनाको ईबी-२ निवेदन स्वीकृत भएको छ भने ४७७ जनाको ईबी-३ निवेदन स्वीकृत भएको छ। ईबी-३ अन्तर्गत १९४ जनाको सीपयुक्त कामदार, १२३ जनाको स्नातक तहको व्यावसायिक कामदार र १६० जनाको सीप नभएका कामदारको निवेदन स्वीकृत भएको हो।

यही अवधिमा रोजगारमा आधारित ग्रीनकार्डका लागि १०५२ जनाले आवेदन दिएका थिए। जसमा पहिलो श्रेणीमा ४१ जनाले, दोस्रो श्रेणीमा २५७ जनाले र तेस्रो श्रेणीमा ७५४ जनाले आई-१४० निवेदन दिएका थिए। पहिलो श्रेणीमा आवेदनका लागि रोजगारदाताको आवश्यकता पर्दैन भने दोस्रो श्रेणीमा राष्ट्रिय हितको छुट (नेशनल इन्ट्रेस्ट वेभर) अन्तर्गत आवेदन दिनेहरूका लागि पनि रोजगारदाताको आवश्यकता पर्दैन।

आई-१४० आवेदन स्वीकृत हुँदैमा आवेदकले ग्रीनकार्ड प्राप्त गर्ने ग्यारेन्टी हुँदैन। ग्रीनकार्डका लागि अमेरिकाभित्र हुने आवेदकले आई-४८५ आवेदन पेस गर्नुपर्छ भने अमेरिकाबाहिर हुने आवेदकले नेसनल भिसा सेन्टरमार्फत डीएस-२६० फारम भरेर दूतावास वा कन्सुलेटमा अन्तर्वार्ता दिएर आप्रवासी भिसा प्राप्त गर्नुपर्छ। आई-१४० आवेदन स्वीकृत भए पनि पछिल्लो चरणमा धेरै नेपालीको आप्रवासी भिसा दूतावासबाट अस्वीकार भएका घटनाहरू बाहिर आएका छन्।

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको मेको भिसा बुलेटिनले रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीका लागि ग्रिनकार्ड र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । युएससीआईएसले मेमा पनि रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएकाले आवेदकहरु थप मारमा छन् ।

मे महिनामा पहिलो श्रेणीका सन्दर्भमा भने पहिले जस्तै ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ । मे महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि अप्रिलमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति २२ जुन २०२३ रहेकोमा मे महिनाका लागि पनि सोही मिति नै कायम छ । अमेरिकाबाहिर हुनेले पनि २२ जुन २०२३ अगाडि प्राथमिकता मिति भएमा मे महिनामा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

तेश्रो श्रेणीको स्कील्ड ग्रिनकार्ड आवेदकका लागि १ जनवरी २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । यो मिति पनि अप्रिलको तुलनामा हेरफेर भएको छैन । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा पनि १ जनवरी २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले मे महिनामा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । अप्रिलको तुलनामा यो मितिमा पनि हेरफेर भएको छैन । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले मेमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

तर चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अनुपलब्ध नै रहेको छ । यसको मतलब यो अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रिनकार्डहरू उपलब्ध हुनेछैनन् ।

युएससीआईएससँगको सहकार्यमा अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष २०२५ को लागि रोजगारमा आधारित चौथो श्रेणीमा उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको जनाएको हो । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले एक आर्थिक वर्षभित्र जारी गर्न सकिने रोजगारमा आधारित आप्रवासी भिसाहरूको संख्यालाई सीमित गर्छ। विशेष गरी, रोजगारमा आधारित चौथो श्रेणीको भिसाको वार्षिक सीमा विश्वव्यापी रोजगारमा आधारित ग्रिनकार्डका सबै श्रेणीको सीमाको ७ दशमलव १ प्रतिशत मात्र हुने व्यवस्था गरेको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको भिसा र ग्रिनकार्डको वार्षिक सीमा हरेक आर्थिक वर्ष लगभग ९,९४० हो। यो वार्षिक रूपमा तोकिएको १४०,००० रोजगारमा आधारित भिसा र ग्रिनकार्डहरूको ७ दशमलव १ प्रतिशत हो। यसबाट देशहरुलाई पनि छुट्टै सिमा तोकिएको हुन्छ ।

आर्थिक बर्ष २०२५ का लागि उपलब्ध सबै ईबी ४ भिसाहरू प्रयोग भइसकेकाले दूतावासहरूले यो आर्थिक वर्षको बाँकी अवधिको लागि यी श्रेणीहरूमा भिसा जारी गर्न सक्नेछैनन्। नयाँ आर्थिक वर्ष अक्टोबर १, २०२५ मा सुरु भएपछि वार्षिक सीमाहरू रिसेट हुनेछन्। त्यस बिन्दुमा दूतावासहरूले योग्य आवेदकहरूलाई यो श्रेणीमा आप्रवासी भिसा जारी गर्न पुनः सुरु गर्न सक्नेछन्। गत वर्ष यो श्रेणीको वार्षिक सीमा अगस्टको अन्त्यमा पुगेको थियो। तर, यो वर्ष, यो सीमा धेरै छिटो पुगेको छ।

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई विघटन गरिरहँदा जागिरबाट निकालिएका विदेशी कर्मचारीहरूले यही श्रेणीको विशेष आप्रवासी ग्रिनकार्डका लागि आवेदन दिने विचार गरिरहेका छन्। जागिरबाट निकालिएपछि उनीहरुलाई विशेष आप्रवासी भिसाका लागि आवेदन दिने विकल्प सुझाउने इमेल प्राप्त भएको थियो । तर यो प्रकृया पूरा हुन अहिले झण्डै ६ बर्ष लागेको छ ।

विशेष आप्रवासी ग्रिनकार्डहरू विभिन्न कार्यक्रमहरूअन्तर्गत जारी गरिन्छन्, जसमा धार्मिक कार्यकर्ताहरू, केही अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरू र अन्य योग्य व्यक्तिहरू समावेश छन्। अमेरिकी आप्रवासन कानूनअन्तर्गत तोकिएको अवधिको लागि अमेरिकी सरकारको वफादार र मूल्यवान सेवा प्रदान गरेका विदेशी कर्मचारीहरू रोजगारमा आधारित चौथो श्रेणीमार्फत ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन सक्छन्।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →