संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सीले भन्यो – ‘गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिर’
प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार
(250502) — GAZA, May 2, 2025 (Xinhua) — Palestinians receive free food from a food distribution center in Gaza City, on May 2, 2025. The United Nations Relief and Works Agency for Palestine Refugees in the Near East (UNRWA) said Friday that the ongoing Israeli blockade is worsening the humanitarian situation in the Gaza Strip, particularly affecting women and children. (Photo by Rizek Abdeljawad/Xinhua)
संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ ।
एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा रोकिएको नवौं हप्ता भइसकेको छ, जसले गर्दा अवस्था झनै बिग्रन सक्ने खतरा छ । यस्तो भयावह स्थिति रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल र समन्वित प्रयास गर्नुपर्ने एजेन्सीले आग्रह गरेको छ । युएनआरडब्लूएले युद्धविरामको लागि पुनः आग्रह गरेको छ ।
त्यस्तै, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले गाजामा नाकाबन्दी तथा सीमाहरू बन्द भएकाले शीघ्र मानवीय सङ्कट आउन सक्ने चेतावनी दिएको छ ।
कार्यालयको प्रेस वक्तव्यमा भनिएको छ, “इजरायली प्रशासनले शिशु आहार, पोषण पूरक सामग्री तथा अन्य मानवीय सहायता प्रवेश गर्न नदिएको कारण ७० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणका कारण अस्पतालमा छन् ।”
वक्तव्यमा पाँच वर्ष मुनिका तीन हजार ५०० भन्दा बढी बालबालिका भोकमरीको कारण मृत्युको नजिक रहेको जनाएको छ ।
यसले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय सहायता आपूर्ति सहज बनाउनका लागि नाका खोल्न र अत्यावश्यक सामग्री प्रवेशको व्यवस्था मिलाउन तत्काल कदम चाल्न आग्रह गरेको छ ।
इजरायलले सन् २०२५ मार्च २ देखि गाजामा वस्तु तथा आपूर्तिको प्रवेश रोक्दै आएको छ । यो निर्णय जनवरी महिनामा भएको पहिलो चरणको युद्धविराम समाप्त भएपछि गरिएको हो, जबकि दोस्रो चरण अझै लागू भएको छैन ।






