२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

अमेरिकी भिसा अपोइन्टमेन्ट प्रक्रिया सहज र व्यवस्थित बनाउन नयाँ मापदण्ड अप्रिल २८ देखि लागू हुने

काठमाडौंस्थित अमेरिकी दूतावास। नेपालका आवेदकहरू पनि खारेज भइसकेका आप्रवासी भिसा र डाइभर्सिटी भिसा जारी गर्ने रोकबाट प्रभावित भएका थिए। ती रोकले आप्रवासी भिसा र डिभी–२०२६ दुवैको प्रक्रिया प्रभावित पारेको थियो।

अमेरिकी दूतावास काठमाडौंले गैरआप्रवासी भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ मापदण्ड अप्रिल २८ देखि लागू गर्ने भएको छ। २०८२ वैशाख १२ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस-१६० भिसा आवेदन फारम साथमा लिएर आउनुपर्ने दूतावासले जनाएको छ। आवेदकहरूले अनलाइन माध्यमबाट अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल खाने भिसा आवेदन फाराम साथमा ल्याउन दूतावासले सूचित गरेको हो।

दूतावासले भनेको छ, “यदि तपाईंको डीएस-१६० फारममा भएको कन्फर्मेशन र बारकोड नम्बर तपाईंले अपोइन्टमेन्ट बुक गर्दा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल नखाएमा तपाईं भिसा अन्तर्वार्तामा सहभागी हुन पाउनुहुने छैन।”

बारकोड नम्बरहरू एकआपसमा मेल नखाएमा आवेदकले आफ्नो भिसा आवेदनलाई अगाडि बढाउनका लागि नयाँ अपोइन्टमेन्ट बुक गर्नुपर्ने दूतावासले जानकारी दिएको छ। साथै, दूतावासले अन्तर्वार्ताअघि डीएस-१६० फारममा भएको कन्फर्मेशन र बारकोड नम्बर तपाईंले अपोइन्टमेन्ट निर्धारण गर्दा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल खान्छ कि खाँदैन भन्ने कुराका लागि दोहोरो जाँच गर्न सुझाव दिएको छ। आफ्ना बारकोड नम्बरहरु एकअर्कासँग मेल खानेकुरा सुनिश्चित गर्दा ढिलासुस्तीबाट बच्न सकिने र भिसा अन्तरवार्ताको प्रकृया समेत सहज बन्ने दूतावासको भनाई छ ।

दूतावासले  विद्यार्थी भिसा आवेदकहरूलाई डीएस-१६० फारममा भएको सेभिस आईडी नम्बर र अप्वाइन्टमेन्ट निर्धारण गर्दा प्रयोग गरेको सेभिस आईडी नम्बर मेल खाए नखाएको जाँच गर्न सुझाव दिइएको छ।

यसअघि दूतावासले मार्चको तेस्रो साताबाट आफ्नो अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको डीएस १६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम ल्याएको थियो । दूतावासकी प्रवक्ता जेहेरा नक्भीले  सार्वजनिक गरेको भिडियो सन्देशअनुसार अमेरिकी भिसा अपोइन्टमेन्टको माग उच्च रहेको र धेरै आवेदकले समय लिन कठिनाइ भोगिरहेको अवस्थालाई सम्बोधन गर्न यो परिवर्तन ल्याइएको थियो ।

प्रवक्ता नक्भीले भनिन्, “हामीलाई थाहा छ कि अमेरिकी भिसा अपोइन्टमेन्टको माग अत्यधिक छ, जसले गर्दा धेरैका लागि समय पाउनु चुनौतीपूर्ण भएको छ। हामीले देखेका समस्यामध्ये एउटा हो—आवेदक तयार हुनुअघि नै अपोइन्टमेन्टहरू रिजर्भ गरिनु, जसले तपाईंहरूजस्ता व्यक्तिका लागि सीमित स्थानमात्र बाँकी रहन्छ।” उनले यो समस्याको समाधानका लागि नयाँ मापदण्ड लागू हुने बताइन्।

नयाँ मापदण्डअनुसार, अब प्रत्येक गैरआप्रवासी भिसा आवेदकले आफ्नो अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको डीएस-१६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। “यो नियमले अपोइन्टमेन्ट लिने र अन्तरवार्तामा उपस्थित हुने व्यक्ति एउटै हो भन्ने सुनिश्चित गर्नेछ,” नक्भीले भनिन्। “यसले दूतावासमा तपाईंको समयलाई सकेसम्म छोटो बनाउन सहयोग गर्नेछ।”

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

उनले आवेदकहरूलाई आफ्नो डीएस-१६० फारमको बारकोड सुरक्षित राख्न र अपोइन्टमेन्टमा ल्याउन आग्रह गरिन्। यदि कुनै आवेदकले यो बारकोड प्रस्तुत गर्न सकेन भने दूतावासको कन्सुलर शाखामा प्रवेश गर्न नदिइने र नयाँ अपोइन्टमेन्ट लिनुपर्ने उनको भनाइ छ।

प्रवक्ताले कन्फर्मेशन पेज हराएका वा पुनः प्रिन्ट गर्नुपर्ने आवेदकका लागि पनि मार्गदर्शन दिएकी छन्। आवेदन दिएको वेबसाइटमा गएर आफूले आवेदन पेश गरेको दूतावासको स्थान छानेर त्यसपछि “रिट्रिभ एप्लिकेशन” विकल्पमा क्लिक गरेर आफ्नो डीएस-१६० बारकोड नम्बर प्रयोग गर्नुपर्ने र त्यहाँबाट कन्फर्मेशन पेज हेर्न र प्रिन्ट गर्न सकिने उनले जानकारी दिइन्।

यदि आवेदनमा कुनै जानकारी सच्याउनुपर्ने भएमा पनि यही प्रक्रिया अपनाउन सकिने उनले बताइन्। “डीएस-१६० पेश गरेपछि जानकारी परिवर्तन गर्नुपरेमा नयाँ डीएस-१६० फारम भरेर पेश गर्नुपर्छ र दुवै फारमका बारकोड अन्तरवार्तामा ल्याउनुपर्छ,” नक्भीले स्पष्ट पारिन्।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →