यी हुन् पोर्चुगलमा मानव तस्करीमा संलग्न नेपाली


प्रकाशित मिति : आश्विन ८, २०७४ आईतबार

पोर्चुगलको एउटा अदालतले दुई नेपाललाई मानव तस्करीमा संलग्न भएको ठहर गरेको छ । २३ जना नेपालीहरुलाई मानव तस्करी गरेर युरोप ल्याएको अभियोगमा उनीहरुलाई अदालतले १३ र १४ बर्षको जेल सजाय सुनाएको छ ।

सजाय पाउनेहरु एटिमामुन्डोको कम्पनीका मालिक नबिन गिरी र कर्मचारी उपेन्द्र पौडेल हुन् । गिरीलाई १४ बर्षको र पौडेललाई १३ बर्षको जेल सजाय सुनाइएको छ । गिरी ३३ बर्षीय हुन् भने पौडेल ३० बर्षीय हुन् ।

नबिन गिरी कास्की समाज पोर्तुगलका अध्यक्ष थिए । उनी पक्राउ परेपछि कास्की समाजले आकस्मिक बैठक बोलाई नयाँ कार्यसमिति गठन गरेको थियो । पोर्तुगल सरकारले अपरेशन पोखरा संचालन गरेर कास्कीका गिरीलाई पक्राउ गरेको हो ।

प्रहरीले गतबर्ष छापा मार्दा २३ जना नेपाली कामदारहरुलाई अत्यन्तै दुखदायी अवस्थामा भेटाएपछि पौडेल र गिरीको मानवतस्करीको पोल खुलेको हो । कृषिमा काम गर्न लगिएका २३ नेपालीहरुलाई ३ वटा कोठामा कोचेर राखिएको थियो । उनीहरुलाई किचन, बिजुली, पानी, आधारभूत सफाई बिना नै कोठामा जनावरलाई जस्तै कोचेर राखिएको थियो भने कोठामा बस्न लायक न्युनतम मापदण्ड समेत थिएन । फैसलाका क्रममा न्यायाधिसले पीडितहरुलाई जनावरलाई भन्दा पनि नराम्रो अवस्थामा अमानवीय तरिकाले राखिएको भन्दै मानवतस्करको निन्दा गरेका थिए ।

मानव तस्करहरु पक्राउ परेपछि पीडितहरुले मानव तस्करबिरुद्धको अदालती बयानका क्रममा सहयोग गरेका थिए । पीडितहरुलाई २५ सय देखि ८ हजार युरोसम्म क्षतिपूर्ती समेत दिइएको छ ।

मानव तस्करी गरेर पोर्चुगल लगी काममा लगाइएका पीडितहरुलाई सिंचाईका लागि प्रयोग गरिने फोहोर पानी खान बाध्य पारिएको थियो भने एउटै फोहोर बाल्टी सबैलाई प्रयोग गर्नका लागि दिइएको थियो ।

पोर्चुगलमा समाजसेवाको नाममा मानब तस्करी, ठगी र दलालीको धन्दा मौलाएको सर्वसाधारणहरुको आरोप छ । नागरिक समाजले अदालतको यो निर्णयको स्वागत गरेका छन् । गिरी र पौडेलले सजाय पाएसँगै पोर्चुगलमा रहेका नेपाली मानव तस्करहरुबीच हाहाकार मच्चिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com