टेक्सासमा १९ बर्षका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन


प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार

टेक्सासमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थी १९ बर्षीय इप्सन भट्टको निधन भएको छ । शनिबार बेलुका टेक्सास सान मार्कोसको सेवेल पार्क नजिकै भएको दुर्घटनामा गोरखा स्थायी घर भएका भट्टको निधन भएको त्यहाँबाट कैलाश हिराचनले खसोखासलाई जानकारी दिएका छन् ।

मोटरसाइकलमा अर्का एकजना भारतीय मूलका व्यक्ति समेत थिए, तर मोटरसाइकल कस्ले चलाएको थियो भन्नेबारे केही खुलेको छैन । सुरुमा ब्रेन डेड भएको भन्दै आइसीयुमा राखिएपनि अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

क्याम्पसबाट काम सकेर घर फर्कने क्रममा उनी सवार मोटरसाइकल सडकमा अर्को गाडीमा ठोक्किएको थियो । त्यसपछि उनलाई एसेन्सन सेटन हेज अस्पताल लगिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनिभर्सिटी अफ टेक्सासमा अध्ययनरत उनी झण्डै १५ महिना अगाडिमात्र अमेरिका आएको जनाइएको छ । युनिभर्सिटी अफ टेक्सासले नै भट्टको शव नेपाल पठाउन बन्दोबस्त गर्ने जानकारी दिएको हिराचनले बताए ।

एनआरएन टेक्सास च्याप्टरले सुरु गरेको गोफण्डमीमा यो समाचार तयार पार्दासम्म ४२ हजार डलर संकलन भइसकेको छ । उनी एफवान भिसामा अमेरिका आएका थिए । शव नेपाल पठाउन युनिभर्सिटीले नै सहयोग गर्ने भएका कारण संकलित रकम पारिवारिक सहयोगका लागि प्रदान गरिने भएको छ ।

उनका साथीभाइ र परिवारले उनी मेहनती, मायालु र महत्वाकांक्षी रहेको बताएका छन् । समुदाय र साथीहरुले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्ति गरिरहेका छन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com