अमेरिकामा एसाइलम पाएपछि मूलदेश फर्किदा ग्रिनकार्ड गुम्ने र नागरिकता अस्वीकार हुने खतरा


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

अमेरिकाका कानुन व्यवसायी बासु फुलारा

एसाइलम प्राप्त व्यक्तिहरू र उनीहरूका परिवारले घुम्न वा अन्य प्रयोजनका लागि मूल देश जानसक्ने नसक्नेबारे बारम्बार प्रश्नहरु गरिरहेका हन्छन् । एसाइलम पाउने व्यक्तिले आफ्नो मातृभूमिमा उत्पीडनको डरले अमेरिका शरण लिएका हुन्छन् । त्यसैले यदि उनीहरू आफैं स्वेच्छाले त्यही देश फर्कन्छन् भने अमेरिकी सरकारले त्यसलाई गम्भीर रूपमा हेर्न सक्छ।

यस्तो अवस्थामा युएससीआईएस वा अध्यागमन न्यायाधिसले एसाइलम रद्द गर्न सक्छन् भने ग्रिनकार्ड खोसिन सक्छ । साथै नागरिकता आवेदन पनि अस्वीकृत हुन सक्छ वा अन्ततः अमेरिका नै छाड्न देशनिकालाको आदेश हुन सक्छ।

यदि आश्रय पाएका व्यक्तिहरू आफ्नै देश फर्केमा अमेरिकी सरकारलाई उनीहरूले अब सुरक्षा आवश्यक नदेखेको वा उनीहरुको देशमा असुरक्षा नभएको लाग्नसक्छ । सरकारी निकायले अनुसन्धान गरी यदि प्रारम्भिक एसाइलम निवेदन गलत वा अतिरञ्जित देखियो भने उनीहरूको स्थिति खारेज गर्न सक्छ । लामो वा बारम्बार स्वदेश यात्रा गरेमा अमेरिकी सरकारलाई लाग्न सक्छ कि एसाइलम आवेदकको जीवनमा कुनै खतरा थिएन।

एसाइलम पाएका व्यक्तिहरूले एसाइलम स्वीकृत भएपछि ग्रिनकार्डको लागि आवेदन दिन सक्छन् र एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । तर यदि उनीहरू आफ्नै देश फर्किएका छन् भने युएससीआईएसले उनीहरूको वास्तविक सुरक्षाको आवश्यकतामाथि पुनरवलोकन गर्न सक्छ। यदि युएससीआईएसले एसाइलम अनावश्यक वा झूटा दाबी गरिएको ठहर गरेमा स्थायी बसोबास खारेज हुन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थायी बसोबास पाएका व्यक्तिहरूले नागरिकता आवेदन दिनुअघि अमेरिकी नियम कानुनप्रति प्रतिबद्धता देखाउनुपर्छ। यदि कुनै व्यक्तिले एसाइलम पाएर आफ्नो देश फर्केका छन् भने युएससीआइएसले नागरिकता अस्वीकृत गर्न सक्ने आधार पाउन सक्छ।

यदि एसाइलम रद्द गरियो वा स्थायी बसोबास झूटो प्रमाणित भयो भने सम्बन्धित व्यक्तिलाई देश निकालाको कारबाही हुनसक्छ। यस्तो अवस्थामा, अन्य कानुनी उपायहरू सीमित हुन सक्छन् । उनीहरूलाई अमेरिका छाड्न आदेश हुन सक्छ।

यदि कुनै व्यक्ति अत्यावश्यक कारणमा यात्रा गर्नैपर्ने स्थिति भएमा रिफ्युजी ट्राभल डकुमेन्ट प्रयोग गर्नु अत्यन्त आवश्यक छ। आफ्नो मूलदेशको राहदानी प्रयोग गर्दा युएससीआईएस वा सीबीपी अधिकारीहरूले थप अनुसन्धान गर्न सक्छन्। यात्रा अघि आप्रवासन वकिलसँग परामर्श लिई सबै सम्भावित कानुनी जोखिमहरू बुझ्नु बुद्धिमानी हुनेछ।

आप्रवासन कानून व्यवसायीको रूपमा म सधैं आफ्ना सेवाग्राहीलाई कानुनी जोखिमहरू राम्ररी बुझेर मात्र यात्रा गर्ने निर्णय लिन सुझाव दिन्छु । प्रत्येक केस फरक हुन्छ, र देशको परिस्थिति, यात्राको कारण, तथा बसाइको अवधि जस्ता कुराहरूले ठोस असर पार्न सक्छन्। कुनै पनि कानुनी जटिलता टार्न, यात्रा गर्नु अघि पेशेवर कानुनी सल्लाह लिनु सर्वोत्तम उपाय हुनेछ।

यो लेख केवल जानकारीका लागि हो। यसलाई कानुनी सल्लाहको रूपमा लिनु हुँदैन। यदि तपाईं आप्रवासन सम्बन्धी जटिलतामा हुनुहुन्छ भने आफ्नै परिस्थितिलाई हेरी कानुनी सल्लाह लिनु अत्यावश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com