इयुका नेताद्वारा मेको भाषणको स्वागत
प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) बाट ब्रिटेन अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको इयुका प्रमुख नेताहरुले विशेष स्वागत गरेका छन्।
मेको भाषणको शैलीको प्रशंसा गर्नेहरुमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार मिशेल बार्निए लगायत छन्।
तर उनले बजेटसम्बन्धी ब्रिटेनको प्रतिबद्धता र ब्रिटेनमा रहेका इयुका नागरिकको सुरक्षासम्बन्धी नयाँ प्रारुपबारे उल्लेख गरेपछि दुवै नेताले त्यसबारे विस्तृत विवरण माग गरे।
मेले इयुबाट ब्रिटेन अलग भएपछि दुई वर्षे संक्रमणकालको प्रस्ताव गरेकी छन्।
ब्रेक्जिट पश्चात दुई वर्षे संक्रमणकालको प्रस्ताव
औपचारिक
सन् २०१९ को मार्चमा ब्रिटेन इयुबाट औपचारिक रुपमा अलग हुनेछ।
क्रेडिट रेटिङ एजेन्सी मुडिजले ब्रिटेनको ‘क्रेडिट रेटिङ’ थप घटुवा गरेको छ।

उसले कर्जादरमा कटौती गर्ने ब्रिटिश सरकारका योजनाहरु हराएको जस्तो देखिएको र इयुबाट उसको बहिर्गमनले आर्थिक अनिश्चितता सिर्जना गरिरहेको जनाएको छ।
उक्त निकायले ब्रेक्जिट प्रक्रियामा देखिएका जटिलताले पनि नीतिहरु ल्याउने सरकारको क्षमतामा असर पार्ने उल्लेख गरेको छ।
‘क्रेडिट रेटिङ’
तर ब्रिटिश सरकारका एकजना प्रवक्ताले मुडिजको आकलनको म्याद गुज्रिसकेको प्रतिक्रिया दिएका छन्।
हालसालै विभिन्न वित्तीय निकायहरुले ब्रिटेनको ‘क्रेडिट रेटिङ’ घटाएका थिए।
‘क्रेडिट रेटिङ’ घट्नुको अर्थ सम्बन्धित मुलुकले उसका वित्तीय प्रतिबद्धताहरु पूरा गर्ने विश्वसनीय आधार गुमाउँदै गएको भन्ने हो।
पाउण्ड स्टर्लिङको भाउ शुक्रवार पनि ओरालो लागेको छ।
BBC Nepali