युद्धविरामको अमेरिकी प्रस्तावमा रुस सकारात्मक, सम्झौता अघि थप छलफल आवश्यक भएको पुटिनको भनाई
प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धविराम सम्बन्धि अमेरिकी प्रस्ताव सकारात्मक भएको बताएका छन ।
मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले ३० दिने युद्धविराम प्रस्ताव सकारात्मक भएपनि सम्झौता अघि धेरै विषयबस्तुमा थप छलफल आवश्यक रहेको बताए । अमेरिकाले अगाडी बढाएको युद्धविराम प्रस्ताव महान र सही भएको पुटिनले बताए ।
उनले अमेरिकी प्रस्तावमा रुसको सैदान्तिक समर्थन रहेको भन्दै यसलाई व्यवहारिक बनाउन धेरै कुरामा छलफल आवश्यक रहेको बताए ।
उनले युद्धविराम लागु भएमा कूस्र्क र अन्य क्षेत्रहरुको परिस्थिती कसरी विकसित हुनेछ भनेर प्रश्न गरेका छन । पुटिनले यस विषयमा अमेरिकी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्ने बताएका छन ।
तर यो कुराकानी बिहिबार हुने संभावना भने नरहेको क्रेमलिनका प्रबक्ता दिमित्री पेसकोभले बताएका छन ।
३० दिनका लागि युद्धविराम गर्न युक्रेनलाई सहमत गराएको अमेरिकाले रुससँग शान्ति वार्ता गर्न प्रतिनिधिमण्डललाई मस्को पठाएको छ ।
युक्रेनले युद्धविरामका लागि रुसलाई सहमत गराउने जिम्मेवारी अमेरिकाको भएको बताएको छ ।