ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार जरिवाना र जेल


प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

अमेरिकामा बसोबास गर्ने अमेरिकी नागरिकबाहेक अन्य गैर नागरिकहरुले ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार डलर जरिवाना वा जेल सजाय वा दुबै सजाय हुनसक्ने चेतावनी युएससीआईएसले दोहोराएको छ । बुधबार युएससीआईएसले वेवसाइट पृष्ठ अपडेट गर्दै ग्रिनकार्डवाहक लगायत सबै गैर नागरिकहरुले अमेरिकाभित्र हिडडुल गर्दा ग्रिनकार्ड लगायतका एलियन नम्बर उल्लेख भएका वा एलियन दर्ता भएका कागजातहरु बोकेर नहिडे कारवाहीको चेतावनी दिएको हो ।

अमेरिकामा ग्रिनकार्ड, वर्क परमिट वा एलियन दर्ता प्रमाण नबोके जरिवाना र जेल हुनसक्ने कानुन रहेको छ । अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २६४ ई अन्तरगत १८ बर्षभन्दा माथिका अमेरिकी नागरिकबाहेकका व्यक्तिले एलियन दर्ता कागजातको प्रमाण जस्तै वर्क परमिट, ग्रिन कार्ड वा आई ९४ जस्ता कागजात अमेरिकाभित्र यात्रा गर्दा वा दैनिक जीवनमा समेत अनिवार्य बोक्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधान अहिले ल्याइएको प्रावधान नभई विगत लामो समयदेखि विद्यमान प्रावधान हो ।

उक्त कानुनका प्रावधानहरूको पालना गर्न असफल हुने कुनै विदेशीलाई दुराचारको दोषी ठहराइने र प्रत्येक अपराधको लागि दोषी ठहरिएमा १ सय डलरसम्म जरिवाना वा तीस दिनसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । त्यस्तै युएससीआईएसले पनि १८ बर्षभन्दा माथिका अमेरिकी नागरिक बाहेकका व्यक्तिलाई वर्क परमिट, ग्रिनकार्ड वा एलियन दर्ता प्रमाणहरु सधै साथमा राख्नुपर्ने बताएको छ ।

यो कानून गैर नागरिकहरूले अमेरिकामा अधिकारीहरुले आवश्यक परेको खण्डमा उनीहरूको कानूनी स्थिति प्रमाणित गर्न सक्ने सुनिश्चित गर्न डिजाइन गरिएको हो । सम्भावित कानुनी समस्याहरूबाट बच्नको लागि गैरनागरिकहरूका लागि कानुनले आवश्यक भएअनुसार आफ्नो वैध आप्रवासन कागजातहरू सधैं बोक्न महत्त्वपूर्ण छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका अध्यागमन वकिल बासु फुलाराले पछिल्लो बदलिंदो अध्यागमन अवस्थामा यस्ता कागजातहरु बोकेर हिड्नु अझ अनिवार्य भएको बताउनुभएको छ । वर्क परमिट, स्टेट आईडी वा ड्राइभर लाइसेन्स, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन आवेदन विचाराधिन रहेका कागजातहरु साथमा बोकेर हिड्नु वा आवश्यक कागजातहरु आफ्नो सहज पहुच हुने तरिकाले इलेक्ट्रोनिक तरिकाले सुरक्षित राख्नु उपयुक्त विचार हुने फुलाराले सुझाव दिनुभएको छ ।

कतिपय कानुन व्यवसायीहरुले अहिलेको अवस्थामा अमेरिकी नागरिकहरुलाई समेत आफ्नो नागरिकता वा पासपोर्टको इलेक्ट्रोनिक कपी बोकेर हिड्न र स्टेट आईडी वा ड्राइभर लाइसेन्स सधै साथमा राखेर हिड्न सुझाव दिएका छन् । यद्यपी अमेरिकी नागरिकहरुलाई यी कागजातहरु बोक्नु कानुनी रुपमा अनिवार्य नभएपनि अहिलेको अवस्थामा अध्यागमनको कुनै सोधपुछमा परेको खण्डमा कागजात देखाउन सकिने भएकाले कुनै झन्झटमा पर्नबाट बच्न यस्तो सुझाव दिइएको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियम अनुशार दर्ताको प्रमाणको रूपमा विभिन्न कागजातहरू स्वीकार्य छन् । जसमा एउटा रहेको छ आई ९४ आगमन प्रस्थान अभिलेख । गैरआप्रवासी रूपमा अमेरिका आएका विदेशीहरू, आप्रवासन र राष्ट्रियता ऐनको धारा २१२ डी फाइभ अन्तर्गत अमेरिकामा परोल गरिएका विदेशीहरू लगायतले यो कागजात बोक्न सक्छन् । इलेक्ट्रोनिक फारम आई ९४ को प्रिन्टआउट बोक्दा पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियमलाई पूरा गर्न सकिन्छ । हराएको, चोरी भएको वा क्षतिग्रस्त फारम आई ९४ लाई प्रतिस्थापन गर्न दायर गरिएको आवेदन पनि अस्थायी दर्ताको प्रमाणका रुपमा लिइन्छ ।

पानीजहाज वा हवाईजहाज मार्फत आउने क्रूम्यानहरूका लागि आई ९५, पानीजहाज मार्फत आउने क्रूम्यानहरूका लागि आई १८४, अमेरिका आएका क्यानाडाका नागरिकहरू वा क्यानाडामा बसोबास गर्ने ब्रिटिश नागरिकहरूका लागि आई १८५, अमेरिका आएका मेक्सिकोका नागरिकहरूका लागि आई १८६, देशनिकालाको प्रकृया सुरु गरिएकाहरुका लागि कारण देखाऊ आदेश र सुनुवाइको सूचना आई २२१ वा आई २२१ एस, ग्रिनकार्ड अर्थात् आई ५५१, वर्क परमिट अर्थात् आई ७६६ लाई प्रमाणको रुपमा बोक्न सकिन्छ । त्यस्तै वैध, म्याद नसकिएको गैरआप्रवासी प्रवेश वा परोल छाप भएको विदेशी राहदानीले पनि प्रमाणका रुपमा काम गर्छ । विद्यार्थीहरुका लागि फर्म आई २० बोकेर हिड्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com