युएससीआईएसबाट “एलियन दर्ता” को अन्तिम निर्देशन: कसले दर्ता गर्नुपर्छ र कसले गर्नु पर्दैन?


प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश १४१५९, प्रोटेक्टिङ द अमेरिकन पिपल अगेंस्ट इन्भेजन (अमेरिकी जनतालाई आक्रमणबाट जोगाउने) कार्यान्वयन गर्न “एलियन दर्ता” सम्बन्धी विस्तृत अन्तिम निर्देशन जारी गरेको छ। यो निर्देशनले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने उद्देश्य राख्दछ र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई आप्रवासन र राष्ट्रियता ऐनको धारा २६२ अन्तर्गत “एलियन दर्ता आवश्यकताहरू” लागू गर्न र दर्ता नगर्नेलाई कारवाही गर्न आदेश दिन्छ ।

युएससीआईएस अनुसार अमेरिकी भिसाको लागि आवेदन दिँदा दर्ता र औंठाछाप नगरिएका  १४ वर्ष वा त्यसभन्दा माथिका सबै व्यक्तिहरूले देशमा ३० दिनभन्दा बढी बसेमा दर्ता र औंठाछापको लागि आवेदन दिनुपर्छ।

निर्देशिकाहरू अनुसार १४ वर्षमुनिका व्यक्तिहरूलाई अभिभावक वा कानुनी संरक्षकले दर्ता गराउनुपर्छ। जब कोही व्यक्ति १४ वर्षको हुन्छ, उनीहरूले आफ्नो जन्मदिनको ३० दिनभित्र पुन: दर्ता  र औंठाछाप दिनुपर्छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दर्ताको प्रमाण जारी गर्नेछ, जुन १८ वर्षभन्दा माथिका व्यक्तिहरूले सधैं साथमा राख्नुपर्छ। यी दर्ता आवश्यकताहरू पालना नगरेमा फौजदारी र नागरिक दण्डहरू लाग्न सक्छ, जसमा जरिवाना र सम्भावित कारावास समावेश छ।

अमेरिकामा रहेका धेरै गैर-नागरिकहरूले पहिले नै दर्ता आवश्यकताहरू पूरा गरेका युएससीआईएसले स्पष्ट गरेको छ।  वर्क परमिट, फारम आई ९४ जारी गरिएकाहरु वा फारमहरू आई ४८५, आई ६८७, आई ६८९ प्रयोग गरेर स्थायी बसोबासको लागि आवेदन दिएका  दर्ता भएको मानिन्छन्। तर, देशमा हाल रहेका धेरै व्यक्तिहरूसँग दर्ता गर्ने प्रत्यक्ष तरिका छैन। यसलाई सम्बोधन गर्न युएससीआईएसले फारम जी ३२५ आर, बायोग्राफिक इन्फर्मेसन (रजिस्ट्रेसन), ल्याएको छ, जसले दर्ता नभएका व्यक्तिहरूलाई  अनलाइन प्रक्रियामार्फत दर्ता गर्न अनुमति दिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले दर्ता भएका र दर्ता गर्नुपर्ने व्यक्तिहरूबीच भिन्नता उल्लेख गरेको छ। पहिले नै दर्ता भएका व्यक्तिहरूमा स्थायी बसोबासकर्ता अर्थात् ग्रिनकार्डवाहक, आईएनए २१२ डी ५ अन्तर्गत पेरोलमा रहेका, फारम आई ९४ जारी गरिएका गैरआप्रवासीहरू र देशनिकाला प्रक्रियामा राखिएका व्यक्तिहरू समावेश छन्। दर्ता नभएकाहरूमा विनाभिसा अमेरिका प्रवेश गर्नेहरू, ३० दिनभन्दा बढी बस्ने स्थलमार्गबाट आएका क्यानाडालीहरू र टीपीएस जस्ता लाभका लागि आवेदन दिएका तर दर्ता कागजात नपाएकाहरू पर्छन्।

दर्ता गर्नुपर्ने व्यक्तिहरूले अमेरिकामा आगमन भएको ३० दिनभित्र वा १४ वर्ष पुगेमा जन्मदिनको ३० दिनभित्र दर्ता गर्नुपर्छ। दर्ता पूरा गर्न, आवेदकहरूले युएससीआईएसमा अनलाइन खाता बनाउनुपर्छ र फारम जी ३२५ आर इलेक्ट्रोनिक रूपमा पेश गर्नुपर्छ। १४ वर्षमुनिका नाबालिगहरूलाई अभिभावक वा कानुनी संरक्षकले आफ्नै युएससीआईएस खातामार्फत दर्ता गर्नुपर्छ।

दर्ता भनेको आप्रवासन स्थिति नभएको र यसले कुनै कानुनी लाभ प्रदान नगर्ने युएससीआईएसले प्रष्ट पारेको छ । यो दर्ता प्रक्रिया कुनै पनि आप्रवासन लाभ आवेदनबाट अलग रहेको र केवल कानुनी आवश्यकता पूरा गर्नका लागि भएको युएससीआईएसको भनाई छ । यी दर्ता आदेशहरू पालना नगरेमा फौजदारी अभियोजन हुन सक्छ, जसमा ५ हजार डलरसम्मको जरिवाना र छ महिनासम्मको जेल सजाय समावेश छ। साथै, १८ वर्ष वा माथिका व्यक्तिहरूले दर्ता कागजात साथमा नराखेमा उनीहरूले कसुरको आरोप, जरिवाना, वा ३० दिनसम्मको जेल सजाय भोग्न सक्छन्।

एजेन्सीले सबै व्यक्तिहरूलाई उनीहरूले ठेगाना परिवर्तन भएको १० दिनभित्र युएससीआईएसलाई जानकारी गराउन सचेत गराएको छ । ठेगाना जानकारी अपडेट नगरेमा दण्ड हुनसक्ने र त्यसमा देशनिकाला समेत समावेश रहेको युएससीआईएसको चेतावनी छ । नियमको पालना अनजानमा नगरेको वा क्षम्य भएको प्रमाणित गर्न नसकेमा त्यस्ता सजायहरु हुनेछन् ।

यसैबीच, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले संघीय आप्रवासन कानुनहरूको पालना सुव्यवस्थित गर्न नयाँ फारम सार्वजनिक गर्दै फेडरल रजिष्ट्ररमा नियम प्रकाशित गरेको छ। मार्च १२, २०२५ मा फेडरल रजिस्टर मा प्रकाशित अन्तरिम अन्तिम नियमले नयाँ दर्ता फारमलाई आप्रवासन र राष्ट्रियता ऐनअन्तर्गत दर्ता गर्नुपर्ने व्यक्तिहरूको लागि तोकेको छ।

यो नियमले क्यानाडामा जन्मेका अमेरिकन इन्डियनहरु जसमा कम्तीमा ५० प्रतिशत अमेरिकन इन्डियन रगत छ, उनीहरुलाई दर्ता आवश्यकताबाट छुट दिइएको स्पष्ट गरेको छ। तर यस्ता प्रवेशकर्ताहरूले चाहेमा भने दर्ता गर्न सक्नेछन् ।

हाल दर्ता गर्न वा बायोमेट्रिक्स पेश गर्न कुनै शुल्क छैन । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले औंठाछाप, पृष्ठभूमि जाँच, र अन्य सम्बन्धित सेवाहरूको लागत कभर गर्न ३० डलर बायोमेट्रिक सेवा शुल्क लागू गर्ने विचार गरिरहेको छ। एजेन्सीले यो सम्भावित शुल्कमा सार्वजनिक टिप्पणी माग गरेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा हाल ३२ लाख व्यक्तिहरू दर्ता नभएको अवस्थामा रहेको अनुमान गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com