अमेरिकी दूतावास काठमाडौंले बनायो भिसा शुल्क भुक्तानी सहज, क्रेडिट/डेबिट कार्डबाट तिर्न सकिने


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अमेरिकी दूतावास काठमाडौंले भिसा सेवामा हालै सुरु गरेको नयाँ प्रणालीअन्तर्गत अब गैर-आप्रवासी भिसाको शुल्क क्रेडिट र डेबिट कार्डबाट पनि तिर्न सकिने भएको छ। यसअघि अमेरिकी दूतावास काठमाडौंबाट गैर-आप्रवासी भिसाका लागि केवल तीनवटा विकल्प उपलब्ध थिए, तर अब थप दुईवटा विकल्पहरू विस्तार गरिएको छ। यो सुविधाले आवेदकहरूलाई भिसा शुल्क तिर्न अझ सहज भएको छ।

पहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नगद भुक्तानी, सोही बैंकको कार्ड भएकाहरूका लागि एटीएमबाट भुक्तानी र कनेक्ट आइपीएसमार्फत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी) का मात्र विकल्प थिए। तर, नयाँ प्रणाली लागू भएसँगै नेपालका बैंकहरूले जारी गरेका डेबिट र क्रेडिट कार्डका साथै अन्तर्राष्ट्रिय डेबिट र क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिने भएको छ। यसले सेवाग्राहीलाई निकै सहजता प्रदान गरेको छ।

हाल अमेरिकामा रहेका व्यक्तिहरूले आफ्ना परिवारका सदस्यहरू, विशेषगरी बुबाआमाका लागि भिजिटर भिसाको आवेदन दिँदा आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर शुल्क तिर्न सक्ने भएका छन्। “हामीकहाँ गैर-आप्रवासी भिसा फारम भर्ने लगायतका सेवा लिन आउनेहरूले पहिले शुल्क तिर्न झन्झट भोग्नुपर्थ्यो। तर, अब नयाँ प्रणाली लागू भएपछि त्यो समस्या हटेको छ,” न्युयोर्कको क्वीन्समा लुम्बिनी वर्ल्डवाइड इन्क परामर्श फर्म सञ्चालन गरिरहेका मनमोहन सिंह घिमिरेले बताए।

यो फर्मले अमेरिकामा पारालिगल सेवा प्रदान गर्नुका साथै अमेरिकी दूतावास काठमाडौंका लागि आप्रवासी र गैर-आप्रवासी भिसा फारमहरू पनि भर्दै आएको छ। “हामीले गैर-आप्रवासी भिसा (डीएस-१६०) र आप्रवासी भिसा (डीएस-२६०) का फारमहरू सशुल्क भर्न सहयोग गर्छौं। साथै, अमेरिकाबाटै भिसा शुल्क भुक्तानी गरेर अपोइन्टमेन्टको मिति लिन पनि सहायता प्रदान गर्छौं,” घिमिरेले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनमोहन सिंह घिमिरे

“डीएस-१६० र डीएस-२६० फारमहरू निश्चित समयभित्र भर्नुपर्ने भएकाले कतिपय सेवाग्राहीलाई झन्झटिलो लाग्छ। त्यसैले उनीहरू हामीकहाँ सहयोग लिन आउँछन्। तैपनि, अनलाइनमा दिइएका निर्देशनहरू हेरेर आवेदकहरूले आफैं निःशुल्क फारम भर्न सक्ने कुरालाई पनि मैले प्रोत्साहन गर्छु।”

“मैले सकेसम्म विगतमा कुनै समस्या नभएका आवेदकहरूलाई अमेरिकाका अध्यागमन र भिसा फारमहरू आफैं निःशुल्क भर्न प्रोत्साहन गर्दै आएको छु। तर, कतिपयले ती फारम आफैं भर्न सक्दैनन् वा बिग्रने डरले भर्न चाहँदैनन्। कतिपयको विगतमा भिसा अस्वीकार भएको वा अन्य जटिल अवस्थाहरू भएकाले फारममा त्यस्ता कुराहरू व्याख्या गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हामीले सशुल्क सहयोग प्रदान गर्छौं,” घिमिरेले थपे।

“कतिपय आवेदकका बुबाआमाहरू दुर्गम गाउँमा बस्नुहुन्छ। उहाँहरूले आफैं फारम भर्न सक्ने सम्भावना निकै कम हुन्छ। फारम भर्न सदरमुकाम वा सुविधायुक्त क्षेत्रमा आउनु पनि उहाँहरूलाई झन्झटिलो हुन्छ। अमेरिकामा रहेका छोराछोरीले आफैं फारम भर्न नसकेको वा झन्झट मानेको अवस्थामा काठमाडौंका सेवा प्रदायकहरूलाई सम्पर्क गरेर विवरण पठाउन र फारम भर्न पनि असहज हुन सक्छ। तर, हाम्रो कार्यालयमा सिधै आएर फारम भरेर जान सकिने भएकाले उहाँहरूले सहज महसुस गर्नुभएको छ,” घिमिरेले भने।

“विगतमा फारम भरेपछि पनि शुल्क तिर्न अर्को झन्झट थियो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नगद भुक्तानी वा एटीएमबाट भुक्तानी गर्न अर्को व्यक्तिलाई खटाउनुपर्ने बाध्यता थियो। नेपालमा बैंक खाता भएकाहरूलाई पनि अमेरिकाबाट इलेक्ट्रोनिक फन्ड ट्रान्सफर गर्दा ओटीपी कोड चाहिने, त्यस्ता कोडका लागि नेपालकै फोन नम्बर आवश्यक पर्ने जस्ता प्राविधिक समस्या थिए। तर, अब दूतावासले ल्याएको नयाँ सेवाले यस्ता झन्झट हटाएको छ र समयको पनि बचत भएको छ,” घिमिरेले बताए।

भुक्तानीका विकल्पहरू

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नगद भुक्तानी

तपाईंले आफ्नो गैर-आप्रवासी भिसा आवेदन शुल्क नगद रुपैयाँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखाबाट तिर्न सक्नुहुन्छ। चेकद्वारा भुक्तानी स्वीकार गरिने छैन। भुक्तानी गर्दा पहिचानका लागि आफ्नो राहदानी साथमा ल्याउनुपर्नेछ।

शुल्क तिर्न तपाईंले आफ्नो प्रोफाइलमा लगइन गरेपछि उपलब्ध हुने “अमेरिकी भिसा शुल्कको नगद भुक्तानी” पृष्ठ प्रिन्ट गरेर साथमा लानुहोस्। यो पृष्ठको एकभन्दा बढी प्रति प्रिन्ट नगर्नुहोस्। यदि तपाईंले भुक्तानी गर्नुभन्दा अगाडि नै यो पृष्ठ प्रिन्ट गर्नुभएको छ भने, यसको म्याद सकिने मिति जाँच्नुहोस्। म्याद सकिएको अवस्थामा वेबसाइटमा गएर आफ्नो प्रोफाइलमा लगइन गरी नयाँ “अमेरिकी भिसा शुल्कको नगद भुक्तानी” पृष्ठ प्रिन्ट गर्नुहोस्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले म्याद सकिएको पृष्ठबाट भुक्तानी स्वीकार गर्दैन।

बैंकमा भिसा शुल्क तिर्न “अमेरिकी भिसा शुल्कको नगद भुक्तानी” पृष्ठ साथमा लानुहोस्। पृष्ठमा उल्लेखित सही रकम तिरेको सुनिश्चित गर्नुहोस्। भुक्तानीपछि क्यासियरले तपाईंलाई रसिद दिनेछ। भुक्तानी सन्दर्भ नम्बरसहितको रसिद सुरक्षित राख्नुहोस्, किनभने यो हराएमा प्रतिस्थापन गर्न सकिँदैन।

एटीएमबाट भुक्तानी (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कार्डधारीका लागि)

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कार्ड भएकाहरूले नेपालभरका यस बैंकका एटीएम प्रयोग गरेर गैर-आप्रवासी भिसा आवेदन शुल्क तिर्न सक्नुहुन्छ। एटीएमबाट भुक्तानी गर्नुअघि अनलाइन प्रणालीमा प्रोफाइल बनाई “अमेरिकी भिसा शुल्कको नगद भुक्तानी” पृष्ठ प्रिन्ट गर्नुहोस्।

एटीएममा कार्ड विवरण प्रविष्ट गरेपछि “अन्य सेवा” विकल्पभित्र “बिल भुक्तानी” छनोट गर्नुहोस्। त्यसपछि “अमेरिकी भिसा शुल्क” विकल्प रोजेर सीजीआई रेफरेन्स नम्बर र पृष्ठमा उल्लेखित सही शुल्क रकम प्रविष्ट गर्नुहोस्। सफल भुक्तानीपछि प्राप्त रसिद सुरक्षित राख्नुहोस्, जुन भिसा अन्तर्वार्ताको मिति लिन प्रयोग हुन्छ।

कनेक्ट आइपीएसमार्फत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी)

तपाईंले कनेक्ट आइपीएसमार्फत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर प्रयोग गरेर भिसा शुल्क तिर्न सक्नुहुन्छ। नेपालका विभिन्न ५५ वटा बैंकमा खाता भएकाहरूले यो सुविधा प्रयोग गर्न सक्छन्। कनेक्ट आइपीएसको ई-भुक्तानी प्रणालीमा लगइन गरेपछि “यूएस भिसा शुल्क भुक्तानी” छनोट गर्नुहोस्।

आफ्नो बैंक खाता नम्बर, सीजीआई रेफरेन्स नम्बर, आवेदकको नाम, राहदानी नम्बर र म्याद सकिने मिति प्रविष्ट गरेर भुक्तानी विकल्पमा क्लिक गर्नुहोस्। बैंकले पठाएको ट्रान्ज्याक्सन पासवर्ड र ओटीपी प्रविष्ट गरेपछि भुक्तानीको जानकारीसहित रसिद प्राप्त हुन्छ। यो रसिद डाउनलोड गरी सुरक्षित राख्नुहोस्। सीजीआई रेफरेन्स नम्बरसहितको रसिद हराएमा प्रतिस्थापन हुने छैन र यो बिना अन्तर्वार्ताको मिति लिन सकिँदैन।

क्रेडिट/डेबिट कार्डबाट भुक्तानी

तपाईंले आफ्नो कम्प्युटर वा स्मार्टफोनबाट भिसा वा मास्टरकार्ड डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर गैर-आप्रवासी भिसा शुल्क तिर्न सक्नुहुन्छ। प्रोफाइलमा लगइन गरेर भुक्तानी पुष्टिकरण स्क्रिनमा डेबिट/क्रेडिट कार्ड विकल्प छनोट गर्दा तपाईंलाई भुक्तानी पृष्ठमा लगिन्छ, जहाँ नेपालमा जारी गरिएका कुनै पनि क्रेडिट/डेबिट कार्डबाट भुक्तानी गर्न सकिन्छ। यो विकल्प अहिले सबैभन्दा सहज मानिएको छ।

अमेरिकी डलरमा क्रेडिट/डेबिट कार्डबाट भुक्तानी

यदि तपाईं भिसा शुल्क अमेरिकी डलरमा तिर्न चाहनुहुन्छ भने, अनलाइन भुक्तानी विकल्प छनोट गरेर अन्तर्राष्ट्रिय क्रेडिट/डेबिट कार्डबाट भुक्तानी गर्न सक्नुहुन्छ। अमेरिकामा रहेका व्यक्तिहरूले आफन्त वा अन्य व्यक्तिका लागि गैर-आप्रवासी भिसा फारम भर्दा यो विकल्प निकै सहज छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com