युएससीआईएसद्वारा अपडेट गरिएका ग्रिनकार्डलगायतका सबै फारममा एक महिनाको ग्रेस अवधि प्रदान


प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार

युएससीआईएसले अपडेट गरेका ग्रिनकार्डलगायतका सबै नयाँ फारम लागू गर्नका लागि एक महिनाको ग्रेस अवधि प्रदान गरेको छ। अर्थात्, ती फारमहरू घोषणा गरिएको एक महिनाको अवधिसम्म पनि आवेदकले पुराना संस्करणका फारमहरू पठाउन सक्नेछन्। खासगरी फारमको नयाँ संस्करण सार्वजनिक भएको थाहा नपाएर पुराना संस्करणका फारमहरू पठाएका आवेदकहरूले राहतको अनुभव गरेका छन्।

यसअघि युएससीआईएसले कुनै ग्रेस अवधि नदिई अमेरिकी ग्रिनकार्ड, अमेरिकी नागरिकता र ट्राभल डकुमेन्टलगायतका आवेदन फारमका नयाँ संस्करण जारी गरेको थियो। तर पनि आवेदकहरूले अनजानमा पठाएका पुराना संस्करणका फारमहरू युएससीआईएसले स्वीकार गरेको थियो। मार्च ३ मा ग्रिनकार्ड आवेदन र मार्च ४ मा नागरिकता आवेदनलगायतका फारमका नयाँ संस्करण जारी भए पनि कतिपय आवेदकले जानकारी नपाएका कारण ती फारमका पुराना संस्करणहरू पठाएका थिए।

सबै फारमका नयाँ संस्करण र ग्रेस अवधि हेर्न यहाँ क्लीक गर्नुहोला ।

यसैबीच, युएससीआईएसले कुनै निश्चित ग्रेस अवधि प्रदान नगरे पनि नयाँ संस्करणहरू लागू भएपछि उचित अवधिमा पेश गरिएका फारमका अघिल्ला संस्करणहरू अस्वीकार नगर्ने विवेक प्रयोग गर्ने बताएको थियो। तर, उचित अवधि भन्नाले कति समयलाई मान्ने भन्नेबारे युएससीआईएसले केही खुलाएको थिएन। तर, अन्ततः शनिबार विदाको दिनमा समेत युएससीआईएसले फारमहरूमा एक महिनाको ग्रेस अवधि प्रदान गर्ने गरी अपडेट गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले कुनै आवधिक छुट वा पूर्वसूचना बिना तत्काल लागू हुने गरी विभिन्न एक दर्जन आवेदन फारमका नयाँ संस्करण जारी गरेपछि अमेरिकी अदालतमा युएससीआईएसविरुद्ध समेत मुद्दा दायर गरिएको थियो। अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन र बेनाच कोलोपी एलएलपीले वासिङ्टन डीसीस्थित अदालतमा तत्काल राहतको माग गर्दै शुक्रबार मुद्दा दायर गरेका थिए।

युएससीआईएसले फेब्रुअरी २४, मार्च ३ र मार्च ४ मा १२ वटा फारम अपडेट गरेको थियो। ती सबै नयाँ फारममा जनवरी २०, २०२५ को संस्करण मिति उल्लेख गरिएको छ। अब ती फारमहरू क्रमशः मार्च २४, अप्रिल ३ र अप्रिल ४ बाट पूर्ण रूपमा लागू हुनेछन्। त्योभन्दा अगाडि फारमका पुराना संस्करणहरू समेत प्रयोग गर्न सकिनेछ।

पुराना संस्करणमा तीन लिङ्ग विकल्पहरू—पुरुष, महिला र अर्को लिङ्ग पहिचान—रोज्न दिइएको थियो, तर नयाँ संस्करणले लिङ्ग विकल्पलाई पुरुष र महिलामा सीमित गरेको छ। पुराना संस्करणमा लिङ्ग तटस्थ शब्द र “गैरनागरिक” शब्द प्रयोग गरिएको थियो भने नयाँ संस्करणमा महिला र पुरुष मात्र जनाउने शब्द र “एलियन” शब्द प्रयोग गरिएको छ। नयाँ संस्करण पुरानो संस्करणको तुलनामा कम समावेशी छ।

मार्च ३ मा यू भिसा आवेदन (आई-९१८), आई-४८५ को पूरक फारम जे, आई-४८५ को पूरक फारम ए, बायोग्राफिक इन्फर्मेसन (जी-३२५ए), स्पोन्सर फारम (आई-१३४), आप्रवासीका रूपमा अग्रिम प्रवेशका लागि आवेदन फारम (आई-१९२) मा पनि जनवरी २०, २०२५ को संस्करण सार्वजनिक गरिएको थियो। त्यसअघि फेब्रुअरी २४ मा उद्यमी परोल फारम (आई-९४१), टी भिसा आवेदन (आई-९१४), पब्लिक चार्जको धरौटी रद्द गर्ने फारम (आई-३५६) मा पनि जनवरी २०, २०२५ को संस्करण सार्वजनिक गरिएको थियो।

ट्रम्प प्रशासनले गैरनागरिक र आप्रवासीलाई वर्णन गर्न “एलियन” र “अवैध एलियन” शब्द पुनः प्रयोग गर्न थालेपछि फारमहरूमा पनि सोहीअनुसार अपडेट गरिएको छ। युएससीआईएस, आईसीई, अध्यागमन अदालतलगायतका अन्य सरकारी कागजातमा पनि “एलियन” शब्द प्रयोग गर्न थालिएको छ।

त्यस्तै, ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार अमेरिकी सरकारका कागजातमा लिङ्गको रूपमा महिला र पुरुष मात्र उल्लेख गर्न थालिएको छ। सोहीअनुसार विभिन्न फारम र कागजात अपडेट गर्ने क्रम ट्रम्प प्रशासनले जारी राखेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि लिङ्गमा “एक्स” मार्क गर्ने पासपोर्ट आवेदन फारम हटाइसकेको छ। कार्यकारी आदेशअनुसार नै अमेरिकी पासपोर्टबाट “एक्स” मार्क हटाइएको हो। अबदेखि पासपोर्टमा पनि लिङ्गको रूपमा पुरुष वा महिला मात्र उल्लेख गरिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com