रुसले भन्यो : अस्थायी युद्धविराम अस्वीकार्य
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार
Russia Putin
रुसले अस्थायी युद्धविरामलाई स्वीकार नगर्ने बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा एक महिनाका लागि युद्धविराम वा हवाई र नौसैनिक आक्रमणहरू रोक्ने प्रस्ताव गरेपछि त्यसलाई रुसले स्वीकार नगर्ने बताएको हो ।
रुसले बिहीबार युक्रेनमा अस्थायी युद्धविराम स्वीकार नगर्ने प्रष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वको शीघ्र अन्त्यका लागि दबाब दिइरहेका छन ।
उनले युक्रेनलाई हतियार र गुप्तचर सुचनाको आपूर्ति रोकेका छन । अमेरिकी पछिल्लो कदमबाट रुसी आक्रमणलाई रोक्ने युक्रेनको क्षमतालाई कमजोर बनाएपछि सम्भावित युद्धविरामको चर्चा तीव्र छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताको पहिलो चरणका रूपमा आकाश र समुद्रमा आक्रमणहरू तुरुन्त रोक्न आह्वान गरेका छन ।
म्याक्रोनले फ्रान्स र बेलायतले ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ आक्रमणहरू रोक्ने एक महिनाको युद्धविराम प्रस्ताव गरिरहेको बताएका छन ।
तर रुसले कुनै पनि अस्थायी वा आंशिक युद्धविराम अस्वीकार गर्ने संकेत गरेको छ ।
विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले आफ्ना सहयोगीहरूको मद्दतले आफ्नो सैन्य क्षमता बलियो बनाउन यो युद्धविराम प्रयोग गर्ने संभावना बढी रहेकाले प्रस्ताव अस्वीकार्य रहेको बताइन ।
सन् २०२२ को फेब्रुअरी देखि रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेको थियो ।
ट्रम्पको युक्रेनलाई दिएको सैन्य सहायता निलम्बन गर्ने कदमले युक्रेन र युरोपभरि युक्रेनलाई रुसका लागि अनुकूल सर्तहरू मान्नु पर्ने त होइन भन्ने सन्त्रास पैदा गरेको छ ।






