राष्ट्रपति ट्रम्पले मङ्गलबार संसदलाई सम्बोधन गर्ने
प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएका छन ।
उनले त्यहाँ अमेरिकी राष्ट्रपतिका रूपमा अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तय भएको छ ।
सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद भवनमा हुने उनको यो पहिलो सम्बोधन हो ।
रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी १ हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।
अलाबामाका सिनेटर तथा पूर्व फुटबल प्रशिक्षक टोमी ट्युबरभिलले राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्ने बताए ।
ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइरहेका छन
पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्ने,हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन ।
शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको असाधारण चर्काचर्कीमा उनले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेका थिए ।