मेक्सिकोसम्म आएर विनाभिसा अमेरिका छिर्न नसकेपछि आफै नेपाल फर्कदै नेपालीहरु


प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

दलाललाई लाखौं रकम तिरेर मेक्सिकोसम्म आएपनि सिमाक्षेत्रबाट विनाभिसा अमेरिका छिर्न नसकेपछि कैयन नेपालीहरु मेक्सिकोबाटै नेपाल फर्कन थालेका छन् । मेक्सिकोको सिमाक्षेत्रबा विनाभिसा अमेरिका छिर्नखोज्ने नेपालीहरुलाई सीबीपीले पक्राउ गरेर मेक्सिकोमा नै फिर्ता पठाउने रिमेन इन मेक्सिको नीति ट्रम्प प्रशासनले पुनः लागु गरेपछि त्यसबाट नेपालीहरु पनि प्रभावित भएका छन् । साथै मेक्सिको र अमेरिकाले सिमाक्षेत्रमा सुरक्षाबल तैनाथ गरेपछि विनाभिसा छिर्न मुस्किल हुने गरेको छ ।

ट्रम्प प्रशासन सुरु भइसकेपछि अमेरिका छिर्न नसकेपछि मेक्सिकोबाटै नेपाल फर्कन चाहने नेपालीहरुले वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गरिरहेको दूतावास श्रोतले जानकारी दिएको छ । त्यसरी सम्पर्क गरेका ४ जनालाई आफूहरुले ट्राभल डकुमेन्ट बनाएर इमेलमार्फत पठाइदिएको दूतावासले जनाएको छ । त्यसरी अलपत्र परेका नेपालीहरुलाई दूतावासले निशुल्क ट्राभल डकुमेन्ट बनाइदिने गरेको जनाएको छ ।

मेक्सिको आउने क्रममा पासपार्ट पनामामा नै हराएकाले नेपाल फर्कनका लागि आफूहरुसँग कागजात नभएको भन्दै उनीहरुले दूतावासमा सम्पर्क गरेका थिए । अमेरिका छिर्न नसकिने अवस्था आएपछि आफूहरु नेपाल फर्कन चाहेको उनीहरुले बताएका थिए । तर उनीहरु मेक्सिकोबाट नेपाल फर्के नफर्केको भने कुनै जानकारी प्राप्त भएको छैन ।

(एपी फोटो/इभान भुची)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेकै दिन मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाएका थिए । ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए । साथै ट्रम्पले दक्षिणी सिमानामा सुरक्षाका लागि सेना समेत पठाएका छन् । ट्रम्पले २०१९ मा राष्ट्रिय संकटकाल घोषणालाई आफ्नो सीमा पर्खाल निर्माणको लागि रकम प्रयोग गरेका थिए ।

ट्रम्पले सिमाक्षेत्रमा क्याच र रिलिजको समेत अन्त्य गरेका छन् । सिमाक्षेत्रबाट आउने आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खनका लागि अमेरिकामा नै रिहा गर्ने यो नीति अन्त्य भएकाले अब सीबीपी र आइसले पक्राउ गरेकाहरुलाई हिराशतमा राखेरमात्र मुद्दा लड्न अनुमति दिइनेछ ।

ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीति पुनर्स्थापित गरेपछि आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याएको छ । साथै अमेरिकाले सीबीपी वान कार्यक्रम समेत अन्त्य गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com