युद्धविराम विस्तार गर्न इजरायल सहमत, हमासले खोज्यो अमेरिकाको ग्यारेण्टी


प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

इजरायल र हमासबीचको युद्धविराम लम्बिएको छ । युद्धविरामको पहिलो चरण शनिबार सकिएपछि अमेरिकी विशेषदूत स्टीव विटकोफको कार्ययोजनालाई इजरायलले स्वीकृति प्रदान गरेपछि इजरायल युद्धविराम लम्बाउन सहमत भएको हो । यो युद्धविराम ४२ दिन कायम रहने छ ।

मुश्लिम समुदायको रमजान र यहूदी समुदायको पासोबर जस्ता पर्वहरुलाई लक्षित गरि यो युद्धविराम लम्बाइएको अनुमान गर्न सकिन्छ । किनकी यी दुबै पर्वहरु यहि अबधिमा परेका छन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकोफको युद्धविराम प्रस्ताव अनुसार गाजामा हमासले हालसम्म राखेका अर्ध जीवित र मृत इजरायली बन्धकहरूको आधा भाग पहिलो दिनमा मुक्त हुने अपेक्षा गरेको बताएको छ ।

बाकी रहेका बन्धकहरू भने स्थायी युद्धविराम भयो भने मुक्त गरिनेछन्। हमासले इजरायलको यो कदममा सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन ।

हमासले ‘अहिलेसम्म’विटकोफ योजनामा समर्थन जनाउन अस्वीकार गरेको छ । यदि हमासले विटकोफको योजनालाई समर्थन जनायो भने इजरायल तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको इजरायलले बताएको छ ।

अमेरिकी दूतको योजनामा इजरायलले दोस्रो चरणको वार्ता असफल भएमा ४२ दिनपछि पुनः लडाइँ सुरु गर्न सक्ने उल्लेख छ । अमेरिका कतार जस्ता मध्यस्थहरूले दोस्रो चरणको युद्धविरामको ग्यारेन्टी नगरेसम्म इजरायली प्रस्ताव मान्य नहुने हमासले बताएको छ ।

युद्धविरामको पहिलो चरण १९ जनवरीमा लागू भएको थियो । यसले हमास र इजरायली सेना बीचको १५ महिनाको लडाइँलाई रोक्यो । ३३ इजरायली र ५ थाइ बन्धकहरूको रिहाइ गरायो । बदलामा १ हजार ९०० प्यालेन्टाइन बन्दी र गिरफ्तार भएका व्यक्तिहरू रिहा भए ।

अहिले पनि जीवित बन्धकहरूको संख्या २४ रहेको अनुमान गरिएको छ । अरु ३९ जनालाई मृत मानिएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेको थियो । सो आक्रमणमा परेर लगभग १ हजार २०० जनाको मृत्यु भएको थियो । २५१ जनालाई हमासले बन्धक बनाइएको थियो ।

इजरायलले गाजा पट्टीमा हवाई र भुमि आक्रमण गरेर जवाफ दिएको छ । इजरायली आक्रमणमा कम्तीमा ४८ हजार ५०० मानिसहरूको मृत्यु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com