गाजाबाट ४ इजरायली बन्धकहरूको शव हस्तान्तरण
प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार
हहमासले गाजाबाट ४ इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको छ ।
इजरायलले प्यालेस्टाइनी कैदीहरुलाई मुक्त गर्न थालेपछि हमासले इजरायललाई ४ जना बन्धकको शव हस्तान्तरण गरेको हो ।
हमासले हस्तान्तरण गरेका शवको इजरायलले डीएनए परीक्षण गर्ने बताएको छ ।
यी शवहरू ८६ बर्षीय शलोमो मन्सूर, ५० बर्षीय ओहद याहलोमी, ५० बर्षीय त्साची इडन, र ६९ बर्षीय इत्जिक एल्गाराटका हुन या होइनन भन्ने डीएनए परीक्षणबाट पुष्टि हुनेछ ।
ति सबैलाई हमासले ७ अक्टोबर २०२३ को हमलापछि बन्धक बनाएको थियो । बिहीबार बिहानदेखि इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी बन्दीलाई मुक्त गर्न सुरु गरेको छ ।
दर्जनौंलाई कब्जा गरिएका पश्चिमी तट र गाजामा फर्काइएको छ । यो वर्तमान युद्धविराम सम्झौताका पहिलो चरणको अन्तिम साटासाट हुनेछ ।
पहिलो चरणको युद्धविराम शनिबार समाप्त हुँदैछ । हमासले शवहरू व्यक्तिगत रूपमा हस्तान्तरण गरेको छ ।
उसले यसअघि आयोजना गर्ने सार्वजनिक समारोहको इजरायल र अमेरिकाले विरोध गरेपछि कुनैपनि सार्वजनिक समारोह आयोजना नगरी शव हस्तान्तरण गरेको हो ।
हमासले इजरायलमा गरेको हमलामा १ हजार २०० मानिस मारिएका थिए । २५१ बन्धक बनाइएका थिए ।
त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा परेर अहिलेसम्म ४८ हजार मानिसको मृत्यु भइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।






