अमेरिका र रुसका कूटनीतिज्ञहरू दोस्रो पटक भेट्दै,भेटवार्ता इस्तानबुलमा हुने
प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

Russia Putin
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने तय भएको छ ।
दुई मुलुकबीचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक रुससँग उच्चस्तरीय वार्ता उनले सुरु गरेका छन ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो ।
त्यहाँ उनीहरु युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत भएका थिए । त्यसयता दुवै पक्ष युक्रेनलाई किनारमा राखेर नजिक आएका छन् ।
गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गरेका थिए ।
तीन वर्षअघि रुसले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट जोगाउन अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो ।