डोनाल्ड ट्रम्पको हल्ला बढीः ओबामा र बाइडेनले जति पनि देशनिकाला र फिर्ता गर्न सकेका थिएनन्
प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार
ओबामाको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु झण्डै साढे १५ लाख थिए भने ट्रम्पको पहिलो कार्यकालमा देशनिकालामा पर्नेहरु जम्मा झण्डै १२ लाखमात्र रहेका थिए । ओबामाले दोश्रो कार्यकालमा झण्डै १५ लाखलाई देशनिकाला गरेका थिए । यसरी कुल ८ बर्षे कार्यकालमा ओबामाले झण्डै ३० लाखलाई देशनिकाला गरेका थिए ।
बाइडेनको ४ बर्षे कार्यकालमा देशनिकालामा पर्नेहरु झण्डै ७ लाख रहेका थिए । बाइडेनको कार्यकालको पछिल्लो बर्ष २०२४ मा आक्रमक रुपमा ३ लाख १२ हजारलाई देशनिकाला गरिएको थियो । यद्यपी ओबामाकालमा २०१४ मा एकैबर्षमा ४ लाख ५ हजारलाई देशनिकाला गरिएको थियो ।

यो संख्यामा टाइटल ४२ अन्तरगत अमेरिका प्रवेश गर्न नदिइएका, प्रशासनिक रुपमा फिर्ता गरिएका र अन्य तरिकाले फिर्ता पठाइएकाहरुको संख्या समावेश छैन । केबल आइस र सीबीपीले देशनिकाला गरेकाहरुको संख्यामात्र समावेश रहेको छ । बाइडेनकालमा झण्डै थप २६ लाखलाई टाइटल ४२ अन्तरगत फिर्ता पठाइएको थियो भने थप झण्डै साढे ५ लाखलाई प्रशासनिक रुपमा फिर्ता गरिएको थियो । त्यस्तै बाइडेनकालमा झण्डै साढे ८ लाखलाई अन्य तरिकाले फिर्ता गरिएको थियो ।
ट्रम्पको पहिलो कार्यकालमा देशनिकालामा परेका १२ लाख बाहेक झण्डै २ लाख टाइटल ४२ अन्तरगत, झण्डै ३ लाख प्रशासनिक रुपमा र झण्डै ३ लाखलाई अन्यतरिकाले फिर्ता पठाइएको थियो । यसरी ट्रम्पकालमा अमेरिका आइसकेका र सिमाक्षेत्रबाट आउनखोज्ने कुल झण्डै २० लाख आप्रवासीहरुलाई देशनिकाला र फिर्ता गरिएको थियो । यो कुल संख्या बाइडेनकालमा झण्डै ४६ लाख रहेको थियो । साथै यो कुल संख्या ओबामाको पहिलो कार्यकालमा झण्डै ३२ लाख र दोश्रो कार्यकालमा झण्डै २० लाख गरी कुल झण्डै ५२ लाख रहेको थियो ।

ओबामा कार्यकालमा धेरै आप्रवासीहरु देशनिकालामा परेकाले उनलाई आलोचकहरुले डिपोर्टर इन चिफको संज्ञा समेत दिएका थिए । ट्रम्पले अघिल्लो कार्यकालमा पनि देशनिकाला तीब्र पार्ने वाचा गरेपनि यो संख्याले ओबामाको पहिलो कार्यकाललाई समेत उछिन्न सकेन । यसपटक पनि ट्रम्पले मास डिपोर्टेशनको हल्ला गरिरहेका छन् तर कति आप्रवासीहरुलाई देशनिकाला गर्न सक्नेछन् भन्ने यकिन विवरणका लागि अझै केही समय कुर्नुपर्छ ।
नोटः यो समाचारमा ओबामाको कार्यकाल आर्थिक बर्षको हिसाबले तथा ट्रम्प र बाइडेनको कार्यकाल क्यालेण्डर बर्षको हिसाबले गणना गरिएको छ ।






