युरोपेली संघको असन्तुष्टिकाबीच अमेरिका र रुस दोस्रो बैठकको तयारीमा
प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

अमेरिका र रुसले मङ्गलबार साउदी अरेबियाको रियादमा ‘फलो–अप बैठक’ गर्ने तयारी गरेका छन ।
दुई देशका विदेशमन्त्रीबीच भेट भएको एक हप्तापछि अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानीमा भेट गर्ने तयारी गरिरहेको कूटनीतिक स्रोतले बताएको छ ।
नयाँ बैठक “गत हप्ताको ‘फलो–अप’ बैठक हुनेछ । यो गत हप्ताको भन्दा कम स्तरको छ । तर यो अझै प्रगतिको सङ्केत हो”, स्रोतले भनेको छ ।
एक हप्ताअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलहरूबीच छलफल भएको थियो ।
अमेरिकी र रुसी राष्ट्रपतिहरू डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ताको आधारशिला राख्ने सम्भावित छलफलका लागि रियादमा उनीहरुकाबीचमा भेट भएको थियो ।
पहिलो बैठकमा रुस र अमेरिकाले विवाद समाधान गर्न ‘परामर्श संयन्त्र’ स्थापना गर्न र युक्रेनको युद्धमा वार्ताका लागि वार्ताकारहरू नियुक्त गर्न सहमति जुटाएका थिए ।
गत हप्ता ट्रम्पले रुससँग सम्झौताको सम्भावनाका बारेमा ‘धेरै विश्वस्त’ भएको बताएका थिए ।
अमेरिका र रुसले युक्रेन युद्धका सन्दर्भमा वार्ताको सुरुवात गरेपछि युक्रेन र युरोपेली संघ आफुलाई सम्लग्न नगराइएको भन्दै असन्तुष्ट बनेका छन ।
उनीहरुले अमेरिका र रुसबीचमा मात्रै हुने कुनैपनि सम्झौता वा सहमतिले समाधान दिन नसक्ने बताउदै आएका छन ।