युक्रेन युद्धका बारेमा छलफल गर्न इयूका विदेश नीति प्रमुख कल्लास अमेरिका जाँदै


प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

युक्रेन युद्धका विषयमा अमेरिका र युरोपेली संघकाबीचमा वार्ता हुने भएको छ । त्यसका लागि इयूका उच्च कूटनीतिज्ञ अमेरिका जान लागेको बताइएको छ ।

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कल्लास र अमेरिकी विदेशमन्त्री मार्को रुबियोका बीचमा वार्ता हुन लागेको हो । वार्ताका लागि कल्लास मङ्गलबार अमेरिका जाने तय भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर युक्रेन र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने वार्तामा युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,” सोमबार इयूका विदेशमन्त्रीहरूको बैठकमा अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भनेका छन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको इयूको आशंका छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध अमेरिकी राष्ट्रपतिले व्यापक दवाव सिर्जना गरेको देखिन्छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबीच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो ।

इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्समा विदेशमन्त्रीहरूले युक्रेनलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने बताएका छन ।

समूहले औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने तयारी गरेको छ । जसमा रूसबाट हुने आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com