युक्रेनका खनिजहरूमा पहुँच दिने सम्झौता गर्न राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी दवाव
प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

TOPSHOT-US-POLITICS-TRUMP
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टजले युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्की वार्तामा फर्कन आवश्यक रहेको बताएका छन ।
उनले युक्रेनका महत्वपूर्ण खनिजहरूमा अमेरिकाको पहुँचको बारेमा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।
जेलेन्स्कीले अमेरिकी मागहरूलाई बुधबार अस्वीकार गरेका थिए । युक्रेनका दुर्लभ पृथ्वी खनिजहरूको एक हिस्सा दिनुपर्ने अमेरिकाले प्रस्ताव गरेको थियो ।
युक्रेनलाई रूससँगको युद्धमा अमेरिकाले प्रदान गरेको सहयोगको बदलामा यो प्रस्ताव गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन ।
वाल्टजले व्हाइट हाउस जेलेन्स्कीबाट भएको अस्वीकार्य अपमानहरू सुनेर धेरै निराश भएको बताए । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरेर जलेन्स्कीले विभिन्न धारणाहरु सार्वजनिक गरेका थिए ।
युक्रेनमा लिथियम र टाइटेनियम लगायतका महत्वपूर्ण खनिज र तत्वहरूको विशाल भण्डार छ । ठूलो मात्रामा कोइला, ग्याँस, तेल र युरेनियमको भण्डार पनि छ । जसको मूल्य अर्बौं डलर हुन्छ ।
वाल्टजले युक्रेनका दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहयोगको बदलामा क्षतिपूर्ति स्वरूप विनिमय गर्न सकिने विचार राखेका थिए ।
यसले युक्रेनलाई दीगो सुरक्षा ग्यारेन्टी दिनेछ । जुन युक्रेनले आशा गर्न सक्ने सबैभन्दा उत्तम हुनेछ उनले भनेका छन । तर जेलेन्स्कीले प्रस्ताव अस्वीकार गर्दै राज्यलाई बेच्न नसक्ने बताएका थिए ।