महासभामा ट्रम्पले के भन्लान्?


प्रकाशित मिति : आश्विन २, २०७४ सोमबार

यसै हप्ता न्यू योर्कमा शुरु हुने संयुक्त राष्ट्रसंघको महासभाको पूर्व सन्ध्यामा पहिलो पटक सहभागी हुन लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई लिएर विशेष चासो प्रकट भइरहेका छन्।

सोमबार उनले संयुक्त राष्ट्रसंघको सुधारका विषयमा विश्व नेताहरुको बैठक आयोजना गरेका छन् भने मंगलबार दोस्रो वक्ताका रुपमा उनले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रपति चुनिएपछि कार्यभार नसम्हाल्दै ट्रम्पले राष्ट्रसंघलाई ‘मानिसहरु जम्मा भएर गफ गर्ने र रमाइलो समय बिताउने क्लब’का रुपमा चित्रण गरेका थिए।

हालैका महिनामा उनले राष्ट्रसंघको सुधारमा जोड दिइरहेका छन् र प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने एवं शान्ति स्थापना लगायतका क्षेत्रमा राष्ट्रसंघलाई दिदैँ आएको बजेट कटौती गर्ने निर्णय गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्चा

राष्ट्रपति ट्रम्प जस्तै यो महासभा महासचिव एन्टोनियो गुटेरसको पनि पहिलो वर्षको कार्यकालमा आयोजना भइरहेको महासभा हो।

महासभा सुरु हुनु हप्ता दिन अघिदेखि नै राष्ट्रसंघ मुख्यालयमा ट्रम्पले आयोजना गरेको उच्चस्तरीय छलफलमा महासचिव गुटेरसले सुधारका कस्ता प्रस्ताव सुनाउँछन् र महासभामा सम्बोधन गर्दा त्यसमा राष्ट्रपति ट्रम्पले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कौतुहलता कायम छ।

बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव गुटेरसले राष्ट्रसंघका कामकारबाही प्रभावकारी बनाउन १८ जना अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्ति राखेर मध्यस्थतामा सघाउने उच्चस्तरीय सल्लाहकार समूह गठन गर्ने घोषणा गरेका थिए।

त्यसबाहेक उनले राष्ट्रसंघका उच्च औहदा र नियुक्तिहरु लैङ्गिक रुपमा समावेशी बनाउने योजना पनि सार्वजनिक गरेका छन्।

ह्वाइट हाउसले राष्ट्रसंघ सुधारका बारेमा बैठक आयोजना गरेकै दिन गुटेरसले द्वन्द्वग्रस्त क्षेत्रहरुमा खटिएका शान्ति सैनिकका कामकारबाहीलाई जवाफदेही बनाउन एउटा उच्चस्तरीय छलफल समेत आयोजना गरेका छन्।

राष्ट्रसंघ

कटौती

तर पछिल्लो समय राष्ट्रपति ट्रम्पले राष्ट्रसंघलाई अमेरिकाले उपलब्ध गराउँदै आएका बजेटमा कटौती गर्ने निर्णय गरेका छन्।

उनको प्रशासनले ‘अमेरिका पहिलो’ भन्ने अवधारणा लिएको छ र यस वर्ष राष्ट्रसंघको शान्ति सेनालाई बर्सेनि दिदैँ आएको बजेटमा आधा अर्ब डलर कटौती गरेको छ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेलीले पछिल्ला महिनाहरुमा राष्ट्रसंघमा कुरामात्र नभइ काम पनि भइरहेको बताइन्।

उनले ठूलो संख्यामा भन्दा पनि तालिम र स्रोत साधन सम्पन्न शान्ति सैनिक राख्नुपर्ने पक्षमा अमेरिका रहेको उल्लेख गरेकी थिइन्।

राष्ट्रसंघका महासचिवले चाहिँ आफूले संयुक्त राष्ट्रसंघ र अमेरिकाबीच सकारात्मक सम्बन्ध बनाउने दिशामा प्रयासहरु गरिरहेको बताएका छन्।

उनले विश्वभर जलवायु परिवर्तनबाट गम्भीर जोखिम रहेको र हालै अमेरिकाले अलग हुने निर्णय गरेको जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौता कार्यान्वयनका लागि सबै विश्व नेताहरुलाई घच्घच्याउने बताएका छन्।

महासचिव

नाम उल्लेख नगर्ने सर्तमा भएका कुराकानीमा राष्ट्रसंघीय अधिकारीहरु अमेरिकी बजेट कटौती वा अग्रसरताको अभावमा विश्व शान्ति, मानवीय सहायता र दिगो विकास लक्ष्यको कार्यान्वयन जस्ता काममा समस्या थपिने बताउँछन्।

अमेरिकी सञ्चारमाध्यमहरुले यसपालिको महासभामा अमेरिकी प्रतिनिधिमण्डलको संख्या अघिल्लो पटकको भन्दा आधाले घटाइएको जनाएका छन्।

द न्यूयोर्क टाइम्स अखबारका अनुसार यसपालि करिब १ सय ४० जना मात्र अमेरिकी कूटनीतिज्ञ दर्जनौँ विश्व नेता सहित १ सय ९३ देशका प्रतिनिधिले भाग लिने महासभामा सहभागी हुन लागेको जनाएको छ।

उक्त संख्या कटौतीले विश्व कूटनीतिको कुम्भमेला भनेर अर्थ्याइने महासभा र त्यस आसपासमा हुने उच्चस्तरीय बैठक र भेटवार्ताहरुमा अमेरिकी प्रभावलाई कम पार्नसक्ने टिप्पणी भइरहेका छन्।

न्यू योर्कको फस्ट अभिन्यूमा रहेको राष्ट्रसंघको मुख्यालयको नजिकै ट्रम्पको निवास ट्रम्प टावर पनि रहेको छ र महासभाको तयारीमा त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसपालिको महासभामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ उपस्थित हुनेछैनन्।

प्यारिस सम्झौताको दह्रो गरी प्रतिरक्षा गरिरहेका नयाँ फ्रान्सेली राष्ट्रपति एम्मानुएल माक्रोंले वातावरण संरक्षणका पक्षमा नयाँ सन्धि प्रस्ताव गर्ने भनिएको छ।

महासभा र त्यस आसपासका छलफलमा उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, म्यानमारबाट भइरहेको रोहिंज्या शरणार्थीको विस्थापन लगायतका विषय प्रमुखताका साथ उठ्ने देखिन्छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com