आइसको पछिल्लो रिपोर्ट सार्वजनिक: अमेरिकामा १३२ नेपाली आइसद्वारा पक्राउ, १३० डिपोर्ट


प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई अमेरिकी अध्यागमन आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको तथ्यांक सार्वजनिक भएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । बिहिबार आइसले सार्वजनिक गरेको यो रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।

आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।

त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।

बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो ।

अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com