कोलम्बियामा अवतरण गर्न दिइएन अमेरिकी ‘डिपोर्ट’ विमान, कोलम्बियाबाट आउने सामानमा २५% शुल्क


प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

President Donald Trump speaks in the Roosevelt Room of the White House, Tuesday, Jan. 21, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

कोलम्बियाले आप्रवासीलाई देशनिकाला गरेर फिर्ता पठाइएका अमेरिकी विमानहरूलाई आफ्नो देशमा अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रिया आएको छ । ट्रम्पले कोलम्बियामाथि व्यापार र वित्तीय प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आइतबार ट्रम्पले कोलम्बियामाथि नयाँ शुल्क र प्रतिबन्धहरू लगाउने घोषणा गरेका हुन् । लामो समयदेखि अमेरिका निकट रहेको ल्याटिन अमेरिकी देशमाथि यस्तो कदम चालिएको हो।

अब अमेरिकाले कोलम्बियाली सामानहरूमाथि २५ प्रतिशत शुल्क लगाउने भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै अमेरिकाले कोलम्बियाबाट आउने सम्पूर्ण आयातमा तत्काल २५ प्रतिशत शुल्क लगाउने बताएका छन्। उनले एक हप्ताभित्र यसलाई ५० प्रतिशतसम्म पुर्‍याइने पनि बताएका छन् ।

ट्रम्प प्रशासनले कोलम्बियाविरुद्ध वित्तीय तथा बैंकिङ प्रतिबन्धहरू पनि पूर्ण रूपमा लागू गर्ने जनाएको छ। साथै, कोलम्बियाली सरकारी अधिकारीहरूको भिसा रद्द गर्ने र यात्रा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले पनि ट्रम्पको कदमको कडा विरोध जनाएका छन्। उनले अमेरिकी सामानहरूमाथि पनि २५ प्रतिशत प्रतिकारात्मक शुल्क लगाउने घोषणा गरेका छन् । अर्को सामाजिक सञ्जाल पोस्टमा उनले उक्त शुल्क ५० प्रतिशतसम्म पुर्‍याइने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो विवाद ट्रम्पले कागजातविहीन आप्रवासीहरूलाई सामूहिक रूपमा देशनिकाला गर्ने योजनाको क्रममा आएको छ। कोलम्बियाले पहिलो पटक खुल्लमखुल्ला असहयोग देखाएको हो।

अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ विल फ्रिम्यानले कोलम्बियाको अर्थतन्त्र अमेरिकामा निर्भर रहेको र चीनले प्रभाव बढाइरहे पनि अमेरिका अझै कोलम्बियाको सबैभन्दा ठूलो व्यापार साझेदार भएको बताएका छन् ।

कोलम्बियाका राष्ट्रपति पेट्रोले अमेरिकाले कोलम्बियाली आप्रवासीहरूलाई गरिमा र सम्मानका साथ व्यवहार नगरेसम्म देशनिकालाका विमानलाई अवतरण अनुमति नदिने बताएका छन् । यदि आफ्ना देशका नागरिकलाई अमेरिकाबाट फर्काइन्छ भने उनीहरूलाई सम्मानका साथ पठाइनुपर्ने पेट्रोले बताएका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कोलम्बियाले सुरुमा अनुमति दिएको तर पछि फ्लाइट आकाशमै हुँदा अनुमति खारेज गरेको आरोप लगाएका छन् ।

ट्रम्पले कोलम्बियाली आयातमा भारी शुल्क लगाउने कदम चालेपछि दुई देशबीचको व्यापारमा ठूलो असर पर्न सक्ने देखिएको छ । सन् २०२२ मा अमेरिका र कोलम्बियाबीचको व्यापार ५३ दशमलव ५ बिलियन डलर पुगेको थियो, जसमा अमेरिकाले ३ दशमलव ९ बिलियन डलर व्यापार लाभ लिएको थियो। कोलम्बियाबाट अमेरिकी बजारमा मुख्य रूपमा कच्चा तेल, कफी, फूलजस्ता उत्पादनहरू निर्यात गरिन्छ।

पेट्रोले १५,००० भन्दा बढी अमेरिकी नागरिक कोलम्बियामा अवैध रूपमा बसिरहेको उल्लेख गर्दै उनीहरुलाई कानुनी रूपमा दर्ता हुन पनि आग्रह गरेका छन्। अमेरिकामा कागजातविहीन आप्रवासीहरु हुनेमा कोलम्बियालाई मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला र होन्डुरस लगायतले उछिनेका छन् । झण्डै १ लाख ९० हजार कोलम्बियनहरु अमेरिकामा कागजातविहीन रहेको तथ्यांक रहेको छ । जबकी अमेरिकामा कागजातविहीन मेक्सिकनको संख्या ४० लाखभन्दा बढी छ ।

अमेरिकी सेनाका सी १७ विमानहरूलाई कोलम्बियामा अवतरण गर्न नदिएपछि एउटा विमान सान डिएगो फिर्ता भएको थियो भने अर्को टेक्सासमा फर्किएको थियो । यदि डिपोर्ट गरिएका आप्रवासीहरूलाई व्यावसायिक वा चार्टर्ड विमानबाट पठाइयो भने यो विवाद समाधान हुन सक्ने अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन्।

ग्वाटेमालगायत केही ल्याटिन अमेरिकी राष्ट्रहरूले सैन्य विमान स्वीकार गरिसकेका छन्। तर, मेक्सिको लगायतका अन्य देशहरूले खुला समर्थन जनाएका छैनन्।कोलम्बियाका विश्लेषकहरूका अनुसार पेट्रोले अमेरिका विरोधी धारणा राख्ने भए पनि यसअघि डिपोर्टेसन फ्लाइट स्वीकार गरिरहेका थिए। तर, अहिले अचानक नीतिमा परिवर्तन आउनु अनपेक्षित मानिएको छ। यस विवादले अमेरिका र कोलम्बियाबीचको सम्बन्धमा नयाँ मोड ल्याउने देखिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com