ग्रिनकार्ड आवेदनसँगै पेश गरिने मेडिकल रिपोर्टमा अब कोभिड १९ विरुद्धको खोप आवश्यक नपर्ने


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

white and black labeled bottle

ग्रिनकार्ड आवेदनसँगै पेश गरिने मेडिकल रिपोर्टमा अब अब कोभिड १९ विरुद्धको खोप आवश्यक नपर्ने भएको छ । ट्रम्प प्रशासनले जनवरी २२ देखि लागु हुनेगरी कोभिड १९ खोपको आवश्यकतालाई हटाएको घोषणा गरेको हो । सन् २०२१ को अक्टोबर १ देखि बाइडेन प्रशासनले मेडिकल रिपोर्टमा कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएको थियो ।

ग्रिनकार्ड आवेदकहरुले आफ्नो मेडिकल रिपोर्ट फर्म आई ६९३ मा कोभिड १९ विरुद्धको खोप प्राप्त गरेको कागजातहरु प्रस्तुत गर्ने कुनै पनि र सबै आवश्यकताहरु हटाइएको युएससीआईएसले घोषणा गरेको छ । युएससीआईएसले अब कोभिड १९ खोप प्रमाणित गर्ने सन्दर्भमा थप कागजात वा आवेदन अस्वीकार गर्ने आशयको सूचना नपठाउने प्रष्ट पारेको छ ।

साथै युएससीआईएसले कोभिड १९ विरुद्धको खोप प्राप्त गरेको कागजात पेश गर्न असफल भएको आधारमा ग्रिनकार्ड आवेदन अस्वीकार नगर्ने समेत बताएको छ । गत डिसेम्बरदेखि युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ कै साथमा मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने प्रावधान ल्याएको थियो । मेडिकल रिपोर्ट पछि पेश गरेपनि हुने प्रावधान हटाएर ग्रिनकार्ड आवेदनकै साथमा पेश गर्नुपर्ने गरी युएससीआईएसले नीति अपडेट गरेको थियो ।

स्थिति समायोजनको लागि आवेदन दिने ग्रिनकार्ड आवेदकहरूले सामान्यतया अध्यागमन मेडिकल जाँच र सबै आवश्यक खोपहरू पूरा गर्नुपर्छ । सिभिल सर्जनद्वारा हस्ताक्षर गरिएको राम्रोसँग पूरा गरिएको मेडिकल रिपोर्ट फर्म आई ६९३ पेश गर्नुपर्छ जसले गर्दा उनीहरू स्वास्थ्य सम्बन्धी आधारहरूमा ग्रिनकार्ड अस्वीकृत हुने स्वास्थ्य अवस्थाहरूबाट मुक्त भएको देखाउँछ ।

गत अप्रिलमा युएससीआईएसले ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने घोषणा गरेको थियो । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट एक्सपायर नहुने र स्वास्थ्यका आधारमा ग्रिनकार्डका लागि अयोग्य नभएको प्रमाणित गर्न अनिश्चितकालसम्म पेश गर्न सकिने युएससीआईएसले प्रष्ट पारेको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीसँगको परामर्शमा र सार्वजनिक स्वास्थ्य इलेक्ट्रोनिक सूचनामा भएको प्रगतिको आधारमा युएससीआईएसले मेडिकल रिपोर्टको मान्यता निश्चित समयसम्मका लागिमात्र कायम हुन नहुने तथा यसको म्याद निश्चित समय अवधिमा समाप्त हुन नहुने निष्कर्ष निकालेको हो ।

तर सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेपछि आवेदकको चिकित्सा अवस्था परिवर्तन भएको विश्वास गर्ने कारण युएससीआईएसका अधिकारीसँग भएमा भने उनीहरुले थप प्रमाण वा नयाँ मेडिकल रिपोर्ट अनुरोध गर्नभने सक्नेछन् । त्यस्तै मेडिकल रिपोर्टले आवेदकको चिकित्सा अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको वा स्वास्थ्य सम्बन्धी आधारमा आवेदकको ग्रिनकार्ड अस्वीकार्य हुनसक्ने देखिएमा युएससीआईएसका अधिकारीले थप प्रमाण वा नयाँ रिपोर्ट माग्न सक्नेछन् ।

त्यस्तै मेडिकल रिपोर्टहरु सन् २०२३ को नोभेम्बर १ भन्दा अगाडि तयार पारिएको वा सिभिल सर्जनबाट हस्ताक्षर गरिएको भएमा भने त्यस्ता रिपोर्टहरु २ बर्षका लागिमात्र मान्य रहनेछन् । अर्थात् सन् २०२३ को नोभेम्बर १ अगाडिका रिपोर्टमा विगतकै नीति लागु हुनेछ । किनभने नोभेम्बर १ भन्दा अगाडि सिभिल सर्जनहरुले मेडिकल रिपोर्ट तयार गर्दा सीडीसीलाई इलेक्ट्रोनिक रूपमा जानकारी शेय गर्न वा रिपोर्ट गर्न आवश्यक पर्दैनथ्यो ।

युएससीआईएसले सीडीसीसँग परामर्श गरेर २०२३ को नोभेम्बर १ अघि सिभिल सर्जनले हस्ताक्षर गरेको सही तरिकाले भरिएको मेडिकल रिपोर्टले सिभिल सर्जनको हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्ममात्र मान्यता पाउने निर्णय गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com