भोलि अमेरिकामा मार्टिन लुथर किंग डे मनाइदै, को हुन् मार्टिन लुथर किंग जुनियर?
प्रकाशित मिति : माघ ६, २०८१ आईतबार

भोलि अमेरिकामा मार्टिन लुथर किंग जुनियर दिवस । यो सन् १९६४ मा नोबेल शान्ति पुरस्कार जित्ने नागरिक अधिकार नेताको जन्मदिन मनाउने राष्ट्रिय छुट्टी हो।
अहिंसात्मक प्रतिरोधको सन्देश प्रचार गर्दै रेभ मार्टिन लुथर किंग जुनियर अमेरिकी संस्कृतिमा नागरिक अधिकार आन्दोलनको प्रमुख आवाजका रुपमा समाहित भए। एटलान्टाको एबेनेजर ब्याप्टिस्ट चर्चमा मार्टिन लुथर किंग जुनियरले सन् १९६८ मा उनको हत्या हुनु अगाडिसम्म पास्टरको रूपमा सेवा गरेका थिए ।
डा. मार्टिन लुथर किङ जूनियर अमेरिकन आन्दोलनकारी तथा अश्वेत अमेरिकी नागरिक अधिकार संघर्षका प्रमुख नेता थिए । अहिंशात्मक र अवज्ञा आन्दोलनका नेता उनलाई अमेरिकाको गान्धी पनि भनिन्छ । उनको प्रयासमा अमेरिकामा नागरिक अधिकारको क्षेत्रमा प्रगति भएकाले उनलाई आज मानवअधिकारको प्रतीकको रूपमा हेरिन्छ ।
डा. मार्टिन लुथर किङ जुनियरको जन्म सन् १९२९ मा एटलान्टा, जर्जियामा भएको थियो । उनले अमेरिकामा अश्वेत समुदायविरुद्धको विभेदको विरूद्ध एक सफल अहिंसात्मक आन्दोलन गरे । सन् १९५५ मा उनको जीवनमा निर्णायक मोड थियो । सोही वर्ष उनको विवाह भयो । उनलाई दक्षिण अमेरिकी राज्य अलाबामाको मोन्टगोमेरी शहरको चर्चमा बोल्न बोलाइएको थियो । र त्यही वर्ष मोन्टगोमेरीमा सार्वजनिक बसमा अश्वेतमाथि भेदभावको विरुद्ध आवाज उठाउने रोजा पाक्र्सलाई पक्राउ गरिएको थियो । बसमा अश्वेत र गोराहरुका लागि फरकफरक सिटहरुको व्यवस्था थियो । त्यसपछि मात्र मार्टिन लुथर किङ प्रख्यात बस आन्दोलन शुरू गरे ।
३ सय ८१ दिनसम्म चलेको यस सत्याग्रह आन्दोलन पछि अमेरिकी बसहरूमा अश्वेत र गोरा यात्रुहरूका लागि छुट्टै सीटको प्रावधान समाप्त गरियो । पछि, धार्मिक नेताहरूको सहयोगमा उनले समान नागरिक कानून आन्दोलन अमेरिकाको उत्तरी भागमा फैलाए ।
दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन १९५७ मा, मार्टिन लुथर किंग जूनियर दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन (एससीएलसी) का अध्यक्ष चुनिए । यस समूहको उद्देश्य नागरिक अधिकार सुधार आन्दोलनको हितको लागि नैतिक अख्तियार प्रयोग गरेर र कालो जनताको चर्चको शक्ति परिचालन गरेर अहिंसाको प्रदर्शन गर्नु थियो ।
सन् १९५९ मा मार्टिन लुथर किङ अटलान्टा गए । आफ्नो बुबाको चर्चको सहपादरीको रूपमा । त्यसपछिका वर्षहरूमा किंगले १९६३ मा अलाबामामा मतदान अधिकार, विद्रोह, श्रम अधिकार र अन्य आधारभूत नागरिक अधिकारका लागि बर्मिंघम अभियानलगायत धेरै विरोध प्रदर्शन, जुलुस र जुलुसहरू आयोजना गरे । अलाबामाको बर्मिंघम अभियान दुई महिनासम्म चल्यो ।
वाशिंगटन डीसीमा एउटा ठूलो प्रदर्शन पनि उनको नेतृत्वमा भएको थियो । २० अगस्त १९६३ को मार्चमा, सार्वजनिक विद्यालयहरू र रोजगारीमा रंगभेदमाथि प्रतिबन्ध लगायत एउटा सोचविचारात्मक नागरिक अधिकार कानूनले रंग विभेदको कानूनी रुपमा नै अन्त्यको माग गरेको थियो ।
सन् १९६४ मा उनलाई विश्व शान्तिका लागि नोबेल पुरस्कारबाट सम्मानित गरियो । धेरै अमेरिकी विश्वविद्यालयहरूले उनलाई मानार्थ डिग्री प्रदान गरे । धार्मिक र सामाजिक संस्थाहरूले उनलाई पदक दिए । टाइम पत्रिकाले उनलाई १९६३ को ‘म्यान अफ द ईयर’ नाम दियो ।
उनमा महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको गहिरो प्रभाव परेको बताइन्छ । सन १९५९ मा उनले भारतको भ्रमण पनि गरेका थिए । गान्धीजीको आदर्शलाई अनुशरण गर्दै उनले अमेरिकामा यस्तो सफल आन्दोलन गरे जुन धेरै यूरोपियनहरूले पनि समर्थन गरे ।
सन् १९६८ को अप्रिल ४ मा उनी अमेरिकाको टेनेसीमा एउटा होटलमा बसिरहेका थिए । होटलको कोठाबाहिर निस्केको बेलामा उनलाई गोली हानेर हत्या गरिएको थियो । अहिंशात्मक आन्दोलनका नेता महात्मा गान्धी जसरी गोली हानेर मारिए, मार्टिन लुथर किङलाई पनि गोली हानेर नै मारियो । उनी जम्मा ३९ बर्ष बाँचे, तर अमेरिकाको इतिहासमा सुनौलो अक्षरले नाम लेखाए भने विश्वकै लागि प्रेरणाका श्रोत बने ।