ट्रम्पकालमा आप्रवासी अधिकार र विकल्पबारे न्युजर्सीमा नेपालीका लागि निःशुल्क परामर्श
प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

अपडेट: खराब मौषमको कारण यो कार्यक्रम स्थगित गरिएको आयोजकले जानकारी दिएका छन् ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नुभन्दा एक दिन अगाडि आगामी आइतबार आप्रवासी अधिकार र विकल्पबारे न्युजर्सीमा नेपालीका लागि निःशुल्क परामर्श सेवा संचालन गरिने भएको छ । ट्रम्पले कार्यभार सम्हाल्दैगर्दा हजारौं कागजातविहिन नेपाली आप्रवासीहरुमा चिन्ता बढिरहेको सन्दर्भमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
हडसन स्पिक्सले १९ जनवरी २०२५, आइतबार दिनको १२ बजे देखि साढे ३ बजे सम्म हडसन काउन्टी कम्युनिटी कलेज, ७१ सिप एभेन्यू, जर्सी सिटीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सह आयोजकहरुमा बोलो बहन, वुमन फर कज र ट्याप रहका छन् ।
कार्यक्रममा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाई र आप्रवासी अधिकारबारे वकालत गर्दै आएकी क्याथरिन ट्यान्सी सहभागी हुनेछन्। उनीहरूले ट्रम्प प्रशासनको समयमा नेपाली टीपीएसवाहक लगायत अन्य आप्रवासीहरूको विकल्प र अधिकारका बारेमा महत्वपूर्ण जानकारीहरु प्रदान गर्नेछन् ।
आप्रवासीहरूले आफ्ना अधिकार थाहा पाउन आवश्यक रहेको र आप्रवासी अधिकारको बारेमा सचेत गराउन कार्यक्रम आयोजन गरिएको हडसन स्पीक्समा कार्यक्रम निर्देशक डा. बिष्णु माया परियारले बताइन् । त्यसैले कार्यक्रममा सहभागी भएर आफ्ना प्रश्नहरु सोध्न उनले सबै सरोकारवालाहरुलाई आग्रह गरेकी छिन् । कार्यक्रममा सहभागी हुन नसक्नेहरुले भर्चुअल रुपमा समेत प्रश्नहरु पठाउनसक्नेछन् ।
अहिले लगभग ८,००० नेपालीहरु अमेरिकामा टीपीएस अन्तरगत रहेका छन् । ट्रम्पको पदभार ग्रहणसँगै उनीहरूको भविष्यको बारेमा नयाँ अनिश्चितता बढेको छ। ट्रम्पले टीपीएस खारेज गरेर देशनिकाला गर्ने वाचा गरेको सन्दर्भमा उनीहरुमा रहेको डरलाई अझै बढाएको छ।
आइसका अनुशार अमेरिकामा १,३६५ नेपाली नागरिकहरू देशनिकालाको आदेशपछि पनि कुनै संरक्षणविना नै लुकिछिपी बसिरहेका छन् । यी व्यक्तिहरू लगभग १ दशमलव ४५ मिलियन आप्रवासीहरूको ठूलो समूहको हिस्सा हुन् जसलाई देशनिकालाको आदेश दिएपनि उनीहरु अमेरिकामा नै छन् ।
यी १,३६५ नेपाली नागरिकहरू ट्रम्प प्रशासन अन्तर्गत देशनिकालाको पहिलो प्राथमिकतामा रहेको मानिएको छ । अहिलेसम्म अमेरिकामा ३,४४९ नेपालीलाई देशनिकालाको आदेश भएपनि ती मध्ये लगभग २,००० जनाले या अमेरिका छाडेका छन्, या त टीपीएस जस्ता अन्य सुविधाबाट संरक्षित छन् वा उनीहरूको आप्रवासी स्थिति अन्य माध्यमहरूबाट समायोजन गरिएको छ।
अघिल्लो ट्रम्प र वर्तमान बाइडेन प्रशासनको क्रममा लगभग १,५०० नेपालीलाई निष्कासन आदेश प्राप्त भएको थियो । जसमध्ये केहीले अमेरिका छाडिसकेका छन् । तर १३६५ जना नेपालीहरु टीपीएस प्राप्त गर्न योग्य नभएकाले ट्रम्पको पहिलो निशानामा पर्ने उच्च जोखिममा छन् ।