‘एनआरएन नागरिकता लिएकालाई १० वर्ष निःशुल्क भिसा हैन, संविधानप्रदत्त अधिकार चाहिन्छ’


प्रकाशित मिति : २९ पुस २०८१, सोमबार

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने र नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट

सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरिरहँदा विदेशमा बस्ने नेपालीहरूले यस्तो योजनाप्रति आपत्ति जनाएका छन्। मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई दश वर्ष नेपाल बस्दा निःशुल्क भिसाको व्यवस्थासहित आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेकोमा त्यसको विरोध भएको हो।

नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट र प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले संयुक्त विज्ञप्ति जारी गर्नुका साथै यस सम्बन्धी व्यवस्था खारेज गर्न प्रधानमन्त्रीलाई संयुक्त पत्र लेखी अनुरोध गरेका छन्। संयुक्त विज्ञप्तिमा एनआरएन नागरिकता लिएका व्यक्ति र उनीहरूका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिको लागि अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको वर्तमान संविधानले प्रवासमा रहेका नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गरेको छ। सांस्कृतिक, सामाजिक र आर्थिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने संवैधानिक सुनिश्चितताको हामीले पूर्ण उपयोग गर्न नपाएको अवस्था विद्यमान छ। अहिले आफ्नै नागरिकलाई आफ्नै देशमा भिसा लगाउनु पर्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत कदम हो भन्ने हाम्रो ठहर छ।”

“हामी प्रवासमा रहेका नेपालीहरू आफूले सिकेको सीप, आर्जन गरेको धन नेपालकै हितमा लगाउन चाहन्छौं। सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन गैरआवासीय नेपालीहरूको सहभागिताले महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने हाम्रो बुझाइ छ। तर, त्यसका लागि विद्यमान कानुनहरू बाधक बन्दै आएका छन्। गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेका कारण नेपाल सरकारको सम्बन्धित निकायबाट प्रदान गरिने सेवा र सुविधा समेत प्राप्त गर्न नसकेको अवस्था विद्यमान छ।” विज्ञप्तिमा भनिएको छ ।

हाल १० वर्षसम्म निःशुल्क भिसाको व्यवस्था गर्न खोजिनु आम गैरआवासीय नेपालीहरूको लागि स्वीकार्य नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, “१० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क व्यवस्था गर्ने माग हाम्रो कदापि होइन। यो व्यवस्था प्रवासमा रहेका नेपालीहरूको भावना विपरीत छ। हामी नेपालको संविधानले प्रदत्त नागरिकताको पक्षमा छौं र सरकारसँग हाल प्राप्त गैरआवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाएर कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौं। साथै, अहिले संविधान संशोधनको चर्चा समेत चलिरहेको अवस्थामा संविधान संशोधन गर्दा नेपाली नागरिकताको निरन्तरता सुनिश्चित हुने व्यवस्थाका लागि हामी संसदका सबै दल र जनप्रतिनिधिहरूसमक्ष जोडदार माग गर्दछौं।”

सरकारले व्यवस्था गर्न लागेको निःशुल्क भिसासम्बन्धी प्रावधान स्थगित गरी देश बाहिर रहेका नेपालीहरूको भावना अनुसार थप छलफलका लागि सरकारको ध्यानाकर्षण समेत गराइएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले ग्यारेन्टी गरेको र सम्मानित सर्वोच्च अदालतले समेत विदेशमा रहेका आफ्ना नागरिकलाई मताधिकार दिनु भन्ने आदेशलाई तत्काल पालना गरी हामी देश बाहिर रहेका नेपाली नागरिकलाई आफ्नो प्रतिनिधि चुन्ने मताधिकारको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं।”

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार तीनहजार भन्दा बढीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । अमेरिकामा रहेका झण्डै एकलाख नेपाली अमेरिकनहरुहरु एनआरएन नागरिकताका लागि योग्य रहेपनि नागरिकताको कार्यान्वयनमा उब्जिएका समस्या र आशंककाका कारण एनआरएन नागरिकता लिनेहरुको संख्या अत्यन्तै न्यून रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com