पर्यटकले प्रसादको रुपमा भोटको नुन घरमा लैजादै


प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।

यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो उहाँले भन्नुभयो ।

आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन ।

कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै खानी तीन दशकयता उत्खनन भएको छैन ।

पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०–७० मुरी नुन निकाल्ने गर्दथे उहाँले भन्नुभयो । अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।

स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो ।

मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् । पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो ।

उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् ।

नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् ।

बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् ।
राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो ।

शेरचन र उहाँका सन्तानहरू बसाइँ सरेर काठमाडाँै गएपछि खानी उत्खनन हुन छाडेको हो ।

म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्ताँै पैदलयात्रा गरेर मुस्ताङमा नुन लिन जाने गर्दथे ।

विसं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगत रूपमा नुन खानीको अध्ययन गरेको थियो ।

टोलीले यो खानीको नुनमा ७० दशमलव २८ प्रतिशत देखि ९३ दशमलव ७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नुन खान योग्य भएको पुष्टि गरेको थियो ।

जोमसोम देखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सृर्जना, आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com