अदालतको आदेश हुँदाहुँदै देशनिकाला गरिएकी विद्यार्थीलाई फर्काउन तयार छैन ट्रम्प प्रशासन
प्रकाशित मिति : माघ २५, २०८२ आईतबार
एनी लुसिया लोपेज बेलोजा ।तस्वीर : गोफन्डमी
अमेरिकी संघीय सरकारले अदालतको आदेश हुँदाहुँदै देशनिकाला गरिएकी १९ वर्षीया कलेज विद्यार्थी एनी लुसिया लोपेज बेलोजालाई अमेरिका फर्काउने योजना नरहेको जनाएको छ।
लोपेज बेलोजालाई गत नोभेम्बरमा हिरासतमा लिएपछि तुरुन्तै होन्डुरस पठाइएको थियो। यसअघि एक संघीय न्यायाधीशले उनलाई अमेरिकाबाट हटाउन वा म्यासाचुसेट्स बाहिर सार्न सरकारलाई रोक लगाएका थिए। तर, आदेशको बाबजुद उनलाई देशनिकाला गरिएको थियो।
अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड जी. स्टेअर्न्सले यस घटनालाई “गल्ती” भन्दै सरकारलाई सच्याउने अवसर दिनुपर्ने बताएका थिए। साथै, उनले लोपेज बेलोजालाई विद्यार्थी भिसा दिन सिफारिस पनि गरेका थिए।
तर, अमेरिकी अधिवक्ता लिया फोलीले अदालतमा दायर गरेको निवेदनमा विदेशमन्त्रीसँग एकतर्फी रूपमा भिसा जारी गर्ने कानुनी अधिकार नभएको उल्लेख गरेकी छन्। उनका अनुसार यदि लोपेज बेलोजालाई अमेरिका फर्काइए पनि अन्तिम देशनिकाला आदेशका आधारमा उनलाई पुनः तुरुन्तै हिरासतमा राखेर देशनिकाला गर्न सकिनेछ।
फोलीले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले उनलाई पहिलेको अवस्थामा अमेरिका फर्काउने विषयमा विचार गरे पनि सो प्रक्रिया अघि नबढाउने निर्णय गरेको बताइन्।
लोपेज बेलोजाले भने आफ्नो देशनिकाला अन्यायपूर्ण भएको बताएकी छन्। उनले आफूविरुद्ध कुनै आपराधिक अभिलेख नभएको र पढाइमा मात्र केन्द्रित रहेको बताइन्।
उनले आफ्ना अभिभावकहरूले आफूलाई कलेज पढाउन निकै संघर्ष गरेको उल्लेख गर्दै कलेज अध्ययन आफ्नो मात्र होइन, परिवारको सपना पनि भएको बताएकी छिन् ।






