भारतमा सत्यार्थीले बाल बचाउबारे अभियान सुरुगर्दै


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

नयाँ दिल्ली, २५ भदौ । नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियानको सुरुवात गर्नुहुने भएको छ ।

उहाँले उक्त अभियान आगामी सोमबारबाट सुरु गर्न लाग्नुभएको बताइएको छ । समाचारमा जनाइएअनुसार उहाँले उक्त अभियानमा कम्तीमा पनि दश लाख नागरिक संलग्न हुने जानकारी दिनुभएको छ ।

सत्यार्थीलाई भारतमा बालबालिकालाई श्रम तथा यौनजन्य व्यवहारका लागि गरिने बेचबिखनका विरुद्धमा गरेको उल्लेखनीय कार्यका लागि नोवेल शान्ति पुरस्कार दिइएको थियो ।

उहाँले भारतमा विगत लामो समयदेखि बाल बचाउ आन्दोलन सञ्चालन गर्दै आउनुभएको छ ।

यस पटक पनि उहाँले भारतमा बालबालिकाको बेचबिखन र उनीहरुविरुद्धका शोषणका क्रियाकलापको नियन्त्रण सरकारले एक्लै गर्न नसक्ने र यसमा नागरिक समाजको पनि सहभागिता चाहिने भन्दै यो अभियान सुरु गर्न लाग्नुभएको हो ।

उहाँले एएफपी समाचार समितिका सम्वाददातासँग भन्नुभयो– यो बलात्कार, बाल यौन शोषण र बालमजदुरहरुका विरुद्ध हुने विविध खालका शोषणका विरुद्धको सशक्त अभियान हो, म यसमा सबै नागरिकलाई सहभागिताका लागि आग्रह गर्दछु ।

भारतमा अहिले पनि प्रत्येक घन्टा दुई जना बालबालिकामाथि यौनजन्य दुव्र्यबहार हुने गरेको तथ्यांक पाइन्छ । त्यसैगरी प्रत्येक आठ मिनेटमा भारतका एकजना बालबालिका हराउने गरेका छन् ।

यसरी हराउने बालबालिका आफै हराएका नभएर दुरुपयोगका लागि बेपत्ता बनाउने गरिएको पनि उहाँले बताउनुभयो ।

यस्ता बालबालिकालाई अवैध रुपमा ओसारपसार गर्ने र मानौँ कि जनावरको मूल्यमा बेच्ने पनि गरिएको उहाँको भनाई छ ।

यी सबैखाले दुव्र्यवहारको अन्त्यका लागि सबैले लड्नुपर्ने भएकोले आफूले यो अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । यो अभियानमा विशेषगरी बालबालिका विरुद्ध हुने सबैखाले दुव्र्यवहारको अन्त्यका लागि चेतना जगाउने कार्य गरिनेछ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com