अमेरिकाद्धारा रुस सम्बद्ध व्यक्ति र संस्थामाथि प्रतिबन्ध , आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्न खोजेको आरोप
प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार

President Joe Biden smiles as he meets with NATO Secretary General Jens Stoltenberg in the Oval Office at the White House, Monday, June 17, 2024. (AP Photo/Mark Schiefelbein)
संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ । आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
अर्थ मन्त्रालयअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी ) ले १० व्यक्ति र दुई संस्थालाई अमेरिकी राष्ट्रपति चुनावलाई लक्षित गर्ने मस्कोको दुर्भावनापूर्ण प्रयास गरेकोमा अमेरिकी सरकारले प्रतिबन्ध लगाएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रुस समर्थित सञ्चारमाध्यम ‘आरटी’का दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण र विदेशी एजेन्ट दर्ता ऐन उल्लङ्घन गरेकोमा दोषी ठहर गर्नुभएको हो ।
अमेरिकाले रुस सञ्चालित निकायहरूले लामो समयदेखि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत अन्य उपकरणको प्रयोगबाट संयुक्त राज्य अमेरिकाको निर्वाचन प्रक्रिया र संस्थामा रहेको जनविश्वासलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
सन् २०२४ को प्रारम्भबाट रुसद्वारा रुसले आर्थिक सहयोग गरेको समाचारमाध्यम आरटी अधिकारीहरूले दुर्भावनापूर्ण प्रभाव फैलाउने अभियानका लागि अन्जान अमेरिकी प्रभावकर्ताहरूलाई गोप्य रूपमा प्रयोग गर्दै आएका अर्थ मन्त्रालयले दावी गरेको छ ।
विदेश मन्त्रालयले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने सम्भावित विदेशी प्रयासका बारेमा जानकारी दिनेलाई एक करोड डलरसम्मको पुरस्कार दिने प्रस्ताव गरेको छ ।