बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

कोस बजार (बङ्गलादेश), २३ भदौ । पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ ।

बिहीबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या साढे दुई लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेको जनाएका छन् ।

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

छिमेकमा पर्ने यस देशमा म्यानमाली नागरिक जाने क्रम जारी छ । म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन् ।

गत हप्तामात्र राष्ट्रसंघले दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त सङ्ख्या बढेर बिहीबार साढे दुई लाख पुगेको हो ।

म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका छन् । उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन् ।

यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन् ।

राखिज राज्ययमा हिंसा मच्चिएको बताइएको छ । सोही कारणले म्यानमाली भाग्नुपरेको उनीहरुको दाबी छ । तर पनि म्यानमाली सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गरेको छ ।

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।

भाग्ने क्रममा ६० जनाको ज्यान गयो

यसैबीच यो पछिल्लो पटक भएको भागदौडका क्रममा परेर कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उनीहरुको म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा डुंगा डुबेर मृत्यु भएको हो ।

बङ्गलादेशका सीमा सुरक्षा गार्डले दिएको जानकारीअनुसार ती शरणार्थीले नदी तर्ने क्रममा माछामार्ने डुंगा प्रयोग गर्ने गरेका र यस्तो डुंगा डुबेर उनीहरुको ज्यान जाने गरेको छ ।

त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको भनी बङ्गलादेशको सीमा सुरक्षा बलले बताएको भए पनि त्यसो हुन सकिरहेको छैन । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com