बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु


प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार

(FILES) Bangladesh Prime Minister Sheikh Hasina speaks at Japan’s national press club in Tokyo on May 28, 2014. Cheering protesters stormed Bangladeshi Prime Minister Sheikh Hasina’s palace on August 5, 2024, after she fled, the culmination of more than a month of deadly anti-government protests. (Photo by YOSHIKAZU TSUNO / AFP)

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहनुभएको छ । उहाँको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए ।

उहाँको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।

निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनुभएका वकिल मामुन मियाले भन्नुभयो, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”

उहाँका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गर्नुभएको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com