अब पोर्चुगलमा रेसिडेन्ट पर्मिट आवेदन अगाडि सोसल सेक्युरिटी नम्बर आवेदन दिन नपाइने


प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

पोर्चुगलले सोसल सेक्युरिटी इन्रोलमेन्ट नम्बर अर्थात् निस नम्बर आवेदनका सन्दर्भमा मापदण्डहरु कडा बनाएको छ । अब पोर्चुगलमा रेसिडेन्ट पर्मिट आवेदनपछिमात्र सोसल सेक्युरिटी नम्बर आवेदन दिन पाइने नियम ल्याइएको छ । पोर्चुगलमा काम गर्नको लागि निवास अनुमति आवश्यक नपर्ने युरोपियन युनियन अन्तरगतका देशका नागरिकहरुका लागि भने यो नियम लागु हुँदैन ।

यसभन्दा अगाडि विदेशी नागरिकहरूले रेसिडेन्ट पर्मिटको लागि आवेदन गर्नु अघि नै निस नम्बरका लागी आवेदन दिनसक्ने प्रावधान रहेको थियो । विगतमा पहिचान कागजातहरूमा आवेदकले राहदानी वा ईयुको मान्य परिचय पत्रमात्र प्रदान गर्न सक्ने भएतापनि अब आवेदकहरूले यसका अतिरिक्त रोजगारी स्थितिको कागजात पेश गर्नुपर्छ जसमा रोजगार सम्झौता, स्वरोजगारको प्रमाणीकरण, वा कम्पनी दर्ता प्रमाणपत्र हुनसक्छन् । साथमा रेसिडेन्ट पर्मिट आवेदन दिएको प्रमाणपनि चाहिन्छ ।

काम नगर्ने वा रोजगारीको कुनै प्रमाण पेश गर्न नसक्ने आश्रितहरूको सन्दर्भमा के गर्ने भन्नेबारे स्पष्ट हुन बाँकी छ। पोर्चुगलले हालै आप्रवासन दर कम गर्न अध्यागमनका नियमहरुमा परिवर्तनहरु ल्याएको हो । जस अन्तरगत पोर्चुगल सरकारले विदेशीहरूलाई पोर्चुगल प्रवेश गर्न र त्यसपछि आवास अनुमतिको लागि आवेदन दिन अनुमति दिने नियमको अन्त्य गरेको छ।

पहिले नै आवेदन दिएका झण्डै ४ लाख पेन्डिङ आवेदनलाई भने अगाडि बढाइने भएको छ । त्यसका लागि संरचना निर्माण गर्ने घोषणा गरिएको छ । अबदेखि पर्यटक भिसा भएका विदेशीले पोर्चुगल गएर वैधानिकताका लागि आवेदन दिन पाउने छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि गैर आप्रवासीहरूलाई रोजगारी सम्झौता बिना नै पोर्चुगलमा जान र एक वर्षको लागि सोसल सेक्युरिटी तिरेपछि रेसिडेन्सी अनुरोध गर्न अनुमति दिने नियम रहेको थियो ।

यो संयन्त्रको अन्त्यपछि अब आप्रवासीहरूले पोर्चुगल जानुअघि रोजगारी सम्झौता गर्नुपर्छ । योग्य पेशेवरहरू, विद्यार्थीहरू, पोर्चुगिज भाषा बोल्ने राष्ट्रहरू र पारिवारिक पुनर्मिलन खोज्ने मानिसहरूको प्रवेशलाई प्राथमिकता दिइनेछ।

पोर्चुगलमा करिब ८ लाख आप्रवासी बसोबास गर्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर हो । करिब १४ प्रतिशत करदाताहरू आप्रवासी हुन्, जसले सन् २०२२ मा अर्थतन्त्रमा १ दशमलव ६ बिलियन यूरो भन्दा बढी योगदान दिएका थिए ।

२०१५ बाट आठ वर्षको लागि सत्तामा रहेको अघिल्लो समाजवादी सरकार अन्तर्गत पोर्चुगलमा युरोपको सबैभन्दा खुला माइग्रेसन शासन थियो, यद्यपि आप्रवासीहरूले लामो समयदेखि आवास र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका थिए।

यो नियम अन्तरगत ठूलो संख्यामा नेपालीहरु शेंगेन भिसामा वा विनाभिसा पोर्चुगल प्रवेश गरेर १ बर्ष सोसल सेक्युरिटी तिरेपछि टीआरका लागि आवेदन दिदै आएका थिए । नयाँ नियम अन्तरगत यसो गर्न नपाइने भएकाले उक्त संयन्त्रमार्फत पोर्चुगलको बासिन्दा बन्ने सपना देखेका नेपालीहरुको सपना पूरा नहुने भएको छ ।

पोर्चुगलमा नेपालीहरुको ठूलो संख्यामा बसोबास रहेको छ । गतबर्ष पोर्चुगलको लिस्बनमा आवासीय अनुमतिका साथ बसोबास गर्ने नेपालीहरुको संख्या ८ हजार ८ सय ७५ रहेको पोर्चुगल अध्यागमन र सीमा सेवा सेफले जनाएको थियो ।

पोर्चुगलभर आवासीय अनुमतिका साथ कानुनी रूपमा बसोबास गर्ने नेपालीहरुको संख्या भने २३ हजार ४ सय ४१ रहेको सेफले जनाएको थियो । नेपालीहरू पोर्चुगलका बस्ने टप टेन आप्रवासीहरुमा परेका छन् ।

अहिलेसम्म बसाईसराईका लागि पोर्चुगल आउने नेपालीहरुको संख्या भने ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये कैयन आवासीय अनुमतिको प्रतिक्षामा छन् । तर कैयन नेपालीहरु आवासीय अनुमति वा पासपोर्ट प्राप्त गरिसकेपछि पोर्चुगलबाहिर समेत जाने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com