Follow @khasokhasmag

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

कोस बजार (बङ्गलादेश), २० भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या मङ्गलबार एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन् ।

सोमबार म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका र ८७ हजार बङ्गलादेशभित्र गएका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुका अनुसार भने गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो ।

मङ्गलबार यो सङ्ख्या एक लाख भन्दा बढी हुने अनुमान गरिएको सो समाचारमा जनाइएको छ । करिब दशदिन यतादेखि सुरु भएको हिंसाका कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ । हालैका दिनमा बङ्गलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बङ्गलादेश छिर्न सघाइरहेका छन ।

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ ।

राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com