शाही हैसियत त्याग्दै प्रेम विवाह


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन्।

माकोले आफ्नो ‘इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ।

पछिल्लो निर्णयको अर्थ उनले आफ्नो राजपरिवारको सदस्यको हैसियत भने गुमाउनेछिन्।

जापानको एउटा विवादास्पद कानून अन्तर्गत शाही परिवारका महिला सदस्यहरुले सर्वसाधारणसँग विवाह गरे आफ्नो शाही हैसीयत गुमाउनेछन् तर पुरुष सदस्यहरुलाई त्यस्तो विवाह गर्न छुट रहेको छ।

प्रेम

एउटा पत्रकार सम्मेलनमा उनले आफूले पहिलो पटक आफ्नो प्रेमी केइ कोमुरोलाई देख्दा उनको मुस्कान सूर्यको जस्तो लागेको बताइन्।

उनले भनिन्, “मलाई सानैदेखी थाहा थियो विवाह गरेपछि मैलै शाही हैसियत गुमाउनेछु, मैले हाम्रा सम्राटलाई सहयोग गर्न र शाही परिवारको सदस्यको रुपमा आफ्नो जिम्मेवारी वहन गर्न सकेसम्म प्रयास गरेको छु तर म मेरो व्यक्तिगत जीवनबाट पनि प्रसन्न छु।”

आइतबार जापानको शाही परिवारले उनीहरु दुवैबीच विवाहको कुरा छिन्ने काम हुन लागेको घोषणा गरेको हो।

राजकुमारी माको राजगद्दीको उत्तराधिकारी होइनन् किनभने सन् १९४७ को कानूनले शाही वंशको पुरुष सदस्यमात्रै सम्राट बन्ने व्यवस्था गरेको छ।

जापानतस्वीर कपीराइटAFP

२५ वर्षका उनका भावी श्रीमान केइ कोमुरो एउटा ल फर्ममा काम गर्छन्।

दुवैबीच एउटै विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा पाँच वर्षअघि पहिलो पटक भेट भएको थियो।

प्रशंसा

एउटा टेलिभिजन कार्यक्रममा उनले राजकुमारीलाई आफूले ‘चन्द्रामाले जसरी एक टहकले हेर्ने’ व्यक्तिका रुपमा व्याख्या गरे।

२५ वर्षिय राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन्।

उनले विद्यावारिधि गरिरहेकी छन् र एउटा सङ्ग्रहालयमा अनुसन्धानकर्ता रुपमा काम गर्दै आएकी छन्।

यो घोषणा जुलाइ महिनामा नै आउने अपेक्षा गरिएको थियो तर पश्चीम जापानमा वर्षाले विपद् निम्त्याएपछि योजना स्थगित गरिएको थियो।

जापानको सार्वजनिक सञ्चार प्रदायक एनएचकेले उनीहरुको बिहे अर्को वर्ष हुने ठानिएको जनाएको छ।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com