‘राष्ट्रघात भए पार्टीमा बस्दिनँ’


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको मुद्दामा आफूले सम्झौता नगर्ने बताएका छन् ।‘राष्ट्रघात भएको छ भने पार्टीको सीमाभित्र बस्दिनँ,’ शुक्रवार नेकपा एमाले युवा तथा खेलकुद विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले राष्ट्रियताको मामिलामा आफू पार्टी अनुशासनको सीमामा नबस्ने बताएका हुन् ।

उनले देशको सार्वभौमिकताको रक्षा गर्न नसकिए देश बिस्तारै नवऔपनिवेशिक वृद्धाश्रम बन्ने खतरा रहेको बताए । ‘गाउँ खाली भएर बुढाबुढी मात्र छन्, लाश उठाउने मलामी छैनन्, हालत यस्तो भइसक्यो कि देश वृद्धाश्रम बन्ने खतरा छ,’ उनले भने । उनले मुलुकमा बढ्दै गएको हस्तक्षेप र गलत कदमका विरुद्ध विद्रोह नगरे देश पछाडि धकेलिने बताए । नेता श्रेष्ठले राजनीतिक नेतृत्वमा इमान्दारिता नहँुदा देशको बिजोक भएको टिप्पणी गरे ।

नेता श्रेष्ठ ‘प्रकाश’ र काँग्रेस नेतृ सुजाता कोइरालाले कार्यक्रममा मज्जैले ताली खाए । श्रेष्ठले पार्टीहरुको दोहोरो चरित्रबारे कुरा गर्दै आफ्नै पार्टीलाई समेत व्यङ्ग्य गर्दा एमाले कार्यकर्ताले ताली बजाएका थिए । यस्तै कोइरालाले चिनियाँ राष्ट्रपतिको भ्रमणअघि ओली सरकार नढालौँ भनेर आफूले बिन्ति गरेको भन्दै ताली खाइन् ।

माओवादीलाई व्यङ्ग्य गर्दा ताली बज्यो तर, एमालेबारे बोल्दा ताली नबजेपछि श्रेष्ठले यसलाई ‘डबल स्ट्याण्डर्ड’ भने ।चिनियाँ राष्ट्रपतिले ‘नेपाल आउँछु’ भन्दा पनि आउन नदिन ओली सरकार ढालिएको उनको टिप्पणी थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com