जलकुम्भीसहित झारले ढपक्क ढाकेको टरुवा ताल संरक्षणमा जुटे स्थानीय


प्रकाशित मिति : असार २, २०८१ आईतबार

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका छन् ।

ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौरजस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।

सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उहाँले बताउनुभयो ।

दैनिक रूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उहाँले बताउनुभयो । पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष एवं स्थानीय सन्तोष रानाले बताउनुभयो ।

दिगोरूपमा संरक्षणको योजना बनाएर अघि बढ्न सके टरुवा ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने उहाँको भनाइ छ । “बजार क्षेत्रबाट नजिक रहेको र पानीको पर्याप्त स्रोत भएको हुँदा यसको दिगोरूपमा संरक्षणको योजना बनाउँदै अघि बढ्न आवश्यक छ ।

त्यसो गरेमा आर्थिक विकाससमेत टेवा पुग्नेछ”, रानाले भन्नुभयो । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । बजार क्षेत्र मानिने कावासोती वडा नं २, ३ र ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा यही तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा प्रयोग गर्ने गर्दथे । करिब ३ दशमलव ५२ हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ ।

टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष रानाले बताउनुभयो ।

दुई वडामा फैलिएकाले संरक्षण कसले गर्ने भन्ने अन्योलता छ । ताल संरक्षणका लागि भनेर विभिन्न समिति निर्माण भएका छन् तर ती समितिले एकीकृत कार्ययोजना निर्माण नगर्दा संरक्षणमा नै चुनौती थपिएको यहाँका स्थानीयको बुझाइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com