न्युयोर्कमा बन्ने भयो नेपाली सांस्कृतिक केन्द्र , सात दिनमा डेढमिलियन डलर


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन रिजउड नेपाली समाजले सत्यनारायण मन्दिरमा गरिएको सातदिने श्रीमद भागवत महापुराणमा ५ सय ७९ जना दाताहरुबाट १५ लाख ४९ हजार ४ सय ८२ डलर २२ सेन्टसको प्रतिबद्धता प्राप्त भएको छ । जसमध्ये १ लाख डलरभन्दा बढी रकम कार्यक्रम स्थलमा नै संकलन भइसकेको छ । बाँकी रकम दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको काम अगाडि बढ्दै गर्दा संकलन हुने अपेक्षा गरिएको छ । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गरेका हुन् ।

दाताहरुमध्ये अधिकांश व्यक्ति रहेका छन् भने केही संस्थाहरु पनि रहेका छन् । संस्थागत रुपमा नेपाली जनसम्पर्कसमिति अमेरिका, प्रवासी नेपाली मञ्च अमेरिका, सोसाइटी अफ नेपलिज इन अमेरिका कनेक्टिकट,मधेसी एसोसिएसन इन अमेरिका, क्वीन्स नेपाली लायन्स क्लब, लायन्स क्लब अफ क्वीन्स बुद्ध, सगुन डटकम लगायत रहेका छन् ।

५ डलरदेखि सबालाख डलरसम्म

महापुराणमा उपस्थीतहरुले आफ्नो इच्छा र गच्छे अनुशार सांस्कृतिक केन्द्र निर्माणको लागि रकम सहयोग गरेका छन् । यसरी रकम प्रदान गर्नेहरुमा ५ डलरदेखि सबालाख डलरसम्म रकम प्रदान गर्नेहरु रहेका छन् । त्यो बाहेक भेटीका रुपमा हरेक दिन ९६ डलरदेखि ८ सय ५७ डलरसम्म संकलन भएको छ ।

सयौंको उपस्थीति रहेको महापुराणमा उपस्थीत नहुनेहरुले पनि फोनमार्फत डोनेशनको घोषणा गरेका थिए । न्युयोर्कमा सांस्कृतिक केन्द्र निर्माण गरिने भएपनि न्युयोर्क बाहिरका राज्यहरुमा बस्नेहरुले समेत दिल खोलेर सहयोग गरेका थिए ।

सबैभन्दा ठूला संस्थागत दाताहरु

संस्थागत रुपमा सबैभन्दा ठूला दाताहरुमा नेपाली जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मञ्च अमेरिका देखिएका छन् । उनीहरुमध्ये पनि नेपाली जनसम्पर्क समिति अमेरिकाले सबैभन्दा धेरै १ लाख २५ हजार ५ सय ५५ डलर ५५ सेन्टसको प्रतिबद्धता जनाएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले समितिका तर्फबाट सो रकम प्रदान गरिने घोषणा गरेका थिए ।

दाताहरुको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

सहयोग रकम घोषणा गर्न महापुराण स्थलमा सभापति आनन्द बिष्ट लगायतका पदाधिकारीहरु पुगेका थिए । एकबर्षभित्र रकम संकलन गरेर रिजउड नेपाली समाजलाई प्रदान गरिने र नेपाली एकता तथा धर्मको संरक्षणका लागि पहलकदमी भएको महसुस गरिएको सभापति बिष्टले बताए ।

त्यसपछि सबैभन्दा ठूलो दाता प्रवासी नेपाली मञ्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरेको छ । मञ्चका पूर्व अध्यक्ष सञ्जय थापा, वर्तमान महासचिव राधाकृष्ण देउजा सहितको टोलीले सो घोषणा गरेको हो । आफूहरुले रकम संकलनको लागि विशेष योजना बनाइसकेको र त्यही योजना अनुशार रकम संकलन गरेर रिजउड नेपाली समाजलाई हस्तान्तरण गरिने महासचिव राधाकृष्ण देउजाले जानकारी दिए ।

कुन दिन कति संकलन ?

महापुराणको पहिलो दिन झण्डै २० हजार, दोश्रो दिन १ लाख ४३ हजार, तेश्रो दिन ४४ हजार , चौथो दिन १ लाख ३ हजार , पाँचौ दिन ३ लाख ७३ हजार, छैठौं दिन २ लाख २३ हजार र सातौं दिन ६ लाख २९ हजार सहयोग रकमको प्रतिबद्धता प्राप्त भएको हो ।

पहिलो तीन दिनको रकम संकलन निराशाजनक रहेपछि धेरैले लक्ष्य अनुशार रकम संकलन हुनेमा आशंका व्यक्त गरेका थिए । तर चौथोदिन पछि सहयोग रकमको प्रतिबद्धतामा भएको बृद्धिले लक्ष्य भन्दा धेरै रकम संकलन हुन सम्भव भयो । जसबाट आयोजकहरु पनि उत्साहित बने । दाताले किस्ताबन्दीमा रकम दिनसक्ने व्यवस्था समेत गरिएकाले सहज महसुस गरेका थिए ।

सन् २०१० को भन्दा झण्डै तीन गुणा बढी

सन् २०१० मा न्युयोर्कमा आयोजित महापुराण उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये झण्डै ४ लाख डलर सकंलन भइसकेको छ । अहिलेको महापुराणबाट त्यो भन्दा झण्डै तीनगुणा बढी रकमको प्रतिबद्धता प्राप्त भएको छ । विगतका कतिपय दाताहरुले पनि यसपटक सहयोग रकम थपेका छन् । सन् २०१० को महापुराणमा रकम प्रदान गरेका ९३ जना दाताहरुले यसपटक थप रकम प्रदान गरेका छन् भने अरु दाताहरु नयाँ दाता रहेका छन् ।

सन् २०१० को महापुराणबाट संकलित रकमबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको थियो । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन यसपटक सत्यनारायण मन्दिरमा महापुराण गरिएको हो । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजका अध्यक्ष रवि किरण कोइरालाले जानकारी दिनुभएको छ ।

पराजुली परिवारबाट १ लाख १ हजार डलर

सांस्कृतिक केन्द्र बनाउन आयोजक रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुली र उहाँको परिवारले १ लाख १ हजार १ सय ११ डलर दानको घोषणा गरेका छन् । सन् २०१० को महापुराणमा २२ हजार डलर दान दिएका पराजुलीले त्यसमा ७९ हजार डलर थपेर १ लाख १ हजार १ सय ११ डलर दानको घोषणा गरेका हुन् । श्री पराजुली, पत्नी राजुदेवि पराजुली, छोरा आकाश पराजुली, बुहारी गुञ्जना पाण्डे, बहिनी मेरिना पराजुली र छोरा आजाद पराजुलीका तर्फबाट सो रकमको प्रतिबद्धता जनाइएको हो ।

 

पराजुली सांस्कृतिक केन्द्र निर्माणका लागि व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकम सहयोग घोषणा गर्ने दाता बनेका छन् । पराजुली नै रिजउड नेपाली समाजको अध्यक्ष रहेको बखत दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको पहल थालिएको हो । आफ्नो कार्यकालमा थालिएको पहल अहिले सफलताको दिशातिर अगाडि बढेकोमा पराजुलीले खुशी व्यक्त गरेका छन् । आफ्नो कार्यकालमा सुरु गरिएको पहल पूरा गराउन पनि आफ्नो परिवारको तर्फबाट सबैभन्दा धेरै रकमको प्रतिबद्धता जनाइएको पराजुलीले बताएका छन् ।

टप टेन दाता

सांस्कृतिक केन्द्र निर्माणको लागि सबैभन्दा धेरै रकमको प्रतिबद्धता जनाउनेमा पहिलो नम्बरमा नेपाली जनसम्पर्क समिति अमेरिका रहेको छ र दोश्रो नम्बरमा प्रवासी नेपाली मञ्च रहेको छ । तेश्रो नम्बरमा श्री पराजुली परिवार रहेको छ । तर व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकमको प्रतिबद्धता भने श्री पराजुली र उनको परिवारले जनाएका छन् ।

चौथो नम्बरमा राजेश भट्ट र पत्नी सुनिता भण्डारीका तर्फबाट ५० हजार डलरको प्रतिबद्धता जनाइएको छ । यो जोडीले सन् २०१० को महापुराणमा २५ हजार १ डलर र अहिले ५० हजार डलर गरी कुल ७५ हजार १ डलरको प्रतिबद्धता जनाएको छ । पाँचौ नम्बरमा मोहन बहादुर ज्ञवाली क्षेत्री र रिना ज्ञवालीले सन् २०१० मा ४१ हजार र अहिले ९ हजार १ गरी कुल ५० हजार १ डलर प्रदान गर्ने भएका छन् ।

छैठौं नम्बरमा बेद खरेल र कलावती खरेलले २०१० मा १२ हजार ५ सय ५५ र यसपटक १९ हजार १ सय ६ गरी सांस्कृतिक केन्द्र निर्माणका लागि ४१ हजार ६ सय ६१ डलर प्रदान गर्ने भएका छन् । सातौं नम्बरमा सुमन शाह र रम्बिका उलकले सन् २०१० मा १४ हजार १ सय ११ र अहिले २६ हजार ९ सय ९८ गरी कुल ४१ हजार १ सय ९ डलर प्रदान गर्ने भएका छन् । आठौं नम्बरमा सरोज श्रेष्ठ र साधना श्रेष्ठले सन् २०१० मा ५ हजार ८ सय ४१ र अहिले २९ हजार ७ सय १४ गरी कुल ३५ हजार ५ सय ५५ डलर प्रदान गर्ने भएका छन् ।

नबौं नम्बरमा दुईजना कानुन व्यवसायीहरुले बराबर रकम प्रदान गर्ने भएका छन् । केशव सेडाईले सन् २०१० मा १४ हजार ५ सय र यसपटक २० हजार ५ सय १ गरी ३५ हजार १ डलर प्रदान गर्ने भएका छन् । खगेन्द्र जीसी र रेखा हमालले सन् २०१० मा ८ हजार र अहिले २७ हजार १ गरी कुल ३५ हजार १ डलर प्रदान गर्ने भएका छन् । दशौं नम्बरमा सूर्य लम्साल र सरोजा गौतमले ३० हजार ३ सय ६५ डलर प्रदान गर्ने भएका छन् । ११ जना टपटेन दाताहरु सांस्कृतिक केन्द्रका संरक्षक हुने भएका छन् ।

सांस्कृतिक केन्द्रका पाँचजना डायमण्ड ट्रस्टी हुने भएका छन् । २० हजारदेखि २२ हजारभित्र रकमको प्रतिबद्धता जनाउने जगन्नाथ पराजुली र सुमित्रा पराजुली, गौरीराज जोशी, रमेश श्रेष्ठ र आभा श्रेष्ठ, परशुराम देवकोटा र प्रभा देवकोटा, दीपकराज काफ्ले र पुष्पा आचार्य काफ्ले डायमण्ड ट्रस्टी हुने भएका छन् । संरक्षक, डायमण्ड ट्रस्टी, गोल्डेन ट्रस्टी र सिल्भरी ट्रस्टीहरु १ सय ५१ जना रहेका छन् । उनीहरु ५ हजार डलरदेखि १ लाख २५ हजार ५ सय ५५ डलरसम्म डोनेशन गर्नेहरु हुन् । त्यो बाहेक ५४ जना संस्थापक आजिवन सदस्यहरु रहेका छन् । उनीहरुले २५ सय देखि ३ हजार ३ सय ५२ डलरसम्म सहयोग गरेका छन् । ५ सय २११३ डलरसम्म रकम प्रदान गर्ने संस्थापक दाताहरु १ सय ४८ जना रहेका छन् ।

यसपटकको महापुराणमा १५ लाख ४९ हजार ४ सय ८२ डलर २२ सेन्टको नयाँ प्रतिबद्धता आएपनि यसपटक डोनेशनको प्रतिबद्धता जनाउनेहरु मध्ये केहीले सन् २०१० मा समेत ३ लाख ४० हजार १ सय ३७ डलर ६३ सेन्टसको प्रतिबद्धता जनाइसकेका थिए ।

 

यो सहयोग हाम्रा लागि अवशर हो

-आनन्द बिष्ट, सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका

 

नेपाली जनसम्पर्क समितिका अमेरिकाका तर्फबाट सांस्कृतिक केन्द्र निर्माणका लागि सबैभन्दा ठूलो रकम प्रदान गर्ने घोषणा गर्नुभयो । के कुराले प्रेरित गरेको हो ?

नेपाली जनसम्पर्क समिति अमेरिका सामाजिक कार्यमा स्थापना कालदेखि नै सकृय रहदै आएको छ । नेपाली सांस्कृतिक केन्द्र र मन्दिर बनाउने योजना अत्यत्नै प्रशंसनीय छ । त्यसका लागि रिजउड नेपाली समाजले जग्गा पनि किनिसकेकाले यो काम सफल हुन्छ भन्ने लागेर हामीले सहयोगको घोषणा गरेका हौं । जनसम्पर्क समितिमा आवद्ध कैयन साथीहरुले व्यक्तिगत रुपमा लाखौं डलर दिइसक्नुभएको छ । तर हामीले संस्थागत आबद्धता पनि हुनुपर्ने बोध गरेर यो निर्णय गरेका हौं । हामीले साथीहरु बैठक बसेर, २३० जना साथीहरुको नाम संकलन गरेर, न्यूनतम ५ सयका दरले सहयोग गर्ने निर्णय गरेका थियौं । जसअनुशार १ लाख २५ हजार ५ सय ५५ डलर संकलन हुने भएपछि सो रकम प्रदान गर्ने घोषणा गरेका हौं । सामाजिक कामप्रतिको हाम्रो ओतप्रोत र समाजका लागि केही गर्नुपर्छ भन्ने धारणाका कारण हामीलाई यो एउटा अवशर जस्तो लागेको छ ।

सबैभन्दा ठूलो दाताका रुपमा त्यो रकम कहिलेसम्म र कसरी प्रदान गर्नुहुनेछ ?

हामी ठूलो दाता बन्ने कुनै मनाशाय थिएन । रिजउड नेपाली समाजको पहलमा सांस्कृतिक केन्द्र बनाउने अभियानमा ७५ देखि ८० प्रतिशत रकम काँग्रेस र जनसम्पर्क आवद्ध साथीहरुले नै प्रदान गर्नुभएको छ । तर त्यसलाई हामीले राजनीतिक रुपमा लिएका छैनौ । दानविर र मनकारी साथीहरुका रुपमा हेरेका छौं । जनसम्पर्क समितिको उतारचढावकाबीचमा हामीले यो सहयोग गर्न पाउदा खुशी लागेको छ । हामीले प्रतिस्पर्धाका रुपमा ठूलो रकम प्रदान गर्ने घोषणा गरेका होइनौ । हामीले रकम संकलनको योजना बनाउदा हामीले प्रदान गर्ने रकम सबैभन्दा ठूलो भयो, त्यो बेग्लै कुरा हो । हामीले त्यो रकम १ बर्षभित्र प्रदान गर्नेछौ । त्यसका लागि हामीले बेद खरेल संयोजक, रोशन ढुंगाना सदस्य सचिव रहेको समिति समेत बनाएका छौं ।

यो सांस्कृतिक केन्द्र कस्तो बनोस् भन्ने अपेक्षा गर्नुहुन्छ ?

यो नेपाल र नेपालीलाई चिनाउने हुनुपर्छ । अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा सामुदायिक केन्द्र बन्दैछ । त्यो सबै नेपालीको बन्नुपर्छ । कुनै जातधर्म, विचार, टोल छिमेक, समुदाय नभई सबै नेपालीको साझा सामुदायिक केन्द्र बन्नुपर्छ । यसमा दाता पनि सबै क्षेत्र, जातधर्म, विचारका हुनुहुन्छ ।

 

सबैको साझा सामुदायिक केन्द्र बन्नुपर्छ

– राधाकृष्ण देउजा, महासचिव, प्रवासी नेपाली मञ्च अमेरिका

प्रवासी नेपाली मञ्चलाई सांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्नका लागि के कुराले प्रेरित गरेको हो ?

संसारकै आर्थिक राजधानीका रुपमा रहेको र नेपालीहरुको पनि ठूलो बसोबास रहेको न्युयोर्कमा सामुदायिक भवन बनाउने कुरा अत्यन्तै सकारात्मक र समाजको हितमा छ भन्ने ठहरका साथ हामीले सहयोगका लागि अग्रशरता देखाएका हौं ।

त्यो रकम कसरी प्रदान गर्नुहुनेछ ?

हामीले कुल रकमलाई निश्चित नम्बरले भाग लगाएका छौं । र हरेक महिना हाम्रा सदस्यहरुबाट उठाएर त्यो रकम प्रदान गर्नेछौं । त्यसको योजना बनाइसकेका छौं । निश्चित समयभित्र हामीले सो रकम प्रदान गर्ने हिसाबले काम गरिरहेका छौं । कोषमा भएको रकम प्रदान गर्ने नभई सदस्यहरुबाट हरेक महिना जम्मा हुने व्यवस्था गरिसकेकोले जम्मा भएको रकम रिजउड नेपाली समाजलाई प्रदान गर्नेछौं । हामीले दुईबर्षभित्र रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका छौं ।

ठूलोमध्येको एउटा दाताका हिसाबले कस्तो सांस्कृतिक केन्द्र बनोस् भन्ने अपेक्षा राख्नुहुन्छ ?

रिजउड नेपाली समाजका नाममा जुन सामुदायिक केन्द्र बनाउने प्रयास भइरहेको छ । यही तरिकाले डुप्लिकेशन अफ इफोर्ट नहोस् भन्ने हामी चाहन्छौं । रिजउड नेपाली समाजले सामुदायिक भबन बनाइसकेपछि अर्को संस्थाले सोही प्रयोजनका लागि सामुदायिक भवन बनाउन नपरोस् । यही नै सबैको साझा भवन बनोस् । कुनै संस्थाले नयाँ कामको सुरुवात गरेर नयाँ काममा सहयोग गर्ने अवस्था बनोस् । नेपाली सामुदायिक भवनको निर्माण रिजउड नेपाली समाजले गरेपनि यो सबैको साझा बन्न सकोस् । रिजउड नेपाली समाजले त्यसका लागि भूमिका खेल्नुपर्छ ।

तपाईहरुले प्रतिस्पर्धाका रुपमा रकम प्रदान गर्नुभएको हो कि ?

हामीले कुनै प्रतिस्पर्धाका रुपमा रकम प्रदानको घोषणा गरेका होइनौं । तर हाम्रो कामले अरु संस्थालाई व्यक्तिलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो चाहना थियो । त्यो चाहना पूरा भएको छ । हामीले कसैसँग प्रतिस्पर्धा गर्न चाहेका थिएनौं । रिजउड नेपाली समाजले गर्न लागेको काममा बढी भन्दा बढी दाताले सहयोग गर्ने अवस्था बनोस् भन्ने नै हाम्रो चाहना थियो । त्यसैले हामीले अगाडि नै घोषणा गरेका हौं । प्रतिस्पर्धा गर्न चाहेको भए अरुले दिएको रकमको आधारमा धेरै रकमको घोषणा अन्तिम दिनमा गर्न सकिन्थ्यो । त्यसैले प्रतिस्पर्धाका लागि नभई उत्प्रेरणाका लागि घोषणा गरेका हौं ।

 

मेरो कार्यकालमा सुरु अभियान पूरा हुन लाग्दा निकै खुशी छु

-श्री पराजुली, पूर्व अध्यक्ष, रिजउड नेपाली समाज, न्युयोर्क

तपाईको कार्यकालमा सामुदायिक केन्द्रको निर्माणको योजनाका साथ सन् २०१० मा महापुराण गरेर जग्गा किनिएको थियो । अब त्यो योजना पूरा हुने दिशामा छ । कस्तो अनुभव भइरहेको छ ?

हामीले निकै पहिलेदेखि न्युयार्कमा नेपालीको सांस्कृतिक केन्द्रको रहर थियो । त्यसका लागि हामीले सन् २०१० मा महापुराण गरेका थियौं । त्यसबाट संकलित रकमले जग्गा किनेपनि भवन बनाउन सकेनौं । यसपटकको महापूराणबाट संकलित रकमबाट हामीले सोचेको भवन बन्छ भन्ने कुरामा विश्वास छ ।

व्यक्तिगत रुपमा तपाई र तपाईको परिवारले सबैभन्दा धेरै रकम प्रदान गर्नुभयो । यसको लागि के कुराले प्रेरित गरेको हो ?

रिजउडमा नेपाली सांस्कृतिक केन्द्र र दुर्गा मन्दिर निर्माणका लागि म सुरुदेखि नै लागेको हुँ । अघिल्लो पटक हामीले महापुराण गरेर जग्गा किन्न सक्यौं । र अहिलेको कार्यसमितिले महापुराण गर्दा धेरै दाताबाट दान भएको छ । म अध्यक्ष हुँदा मेरो नेतृत्वमा यो अभियान सुरु गरिएको थियो । त्यसैले यो अभियानमा आर्थिक रुपमा सहयोग गर्नु मेरो कर्तब्य हो । यो बारे परिवारका सदस्यहरुसँग मैले सल्लाह गरें । त्यसैले यो रकम प्रदान गर्ने निष्कर्षमा पुगेका हौं ।

सांस्कृतिक केन्द्रलाई सबैको साझा भएको अनुभूती कसरी दिलाउन सकिएला ?

पहिले पनि यो विषयमा धेरै कुराहरु उठेका थिए । यो भवन रिजउड आसपासमा बस्नेहरुका लागिमात्र हुने हो कि ? पायकका लागि अरु स्थानमा सार्नपर्ने हो कि ? भन्ने कुराहरु आएका थिए । तर अरु स्थानमा किन्न महँगो पर्ने भएकाले तत्काल त्यो स्तरको भवन सम्भव नहुन पनि सक्छ । हामीले सोचेकै स्थानमा बनाउन तीनदेखि चारमिलियन डलर लाग्न सक्छ । त्यो क्षमता तत्कालका लागि नहुनसक्छ । रिजउड पुग्नका लागि त्यती टाढा छैन । सबै सजिलै पुग्न सकिन्छ । यो सांस्कृतिक केन्द्र सबै नेपालीहरुको हुनेछ ।

तपाईहरुले कबोल गरेको रकम कहिलेसम्म प्रदान गर्नुहुनेछ ?

बोर्डका सदस्यहरुले दुईबर्षभित्र सो रकम प्राप्त गर्ने अपेक्षा गर्नुभएको छ । एकैपटक सबै रकम प्रदान गर्न गाह्रो पनि हुन्छ । त्यसैले मैले काम हुँदै गर्दा रकम पनि प्रदान गर्दै जानेछु । किस्ताबन्दीमा रकम प्रदान गर्दै जानेछु ।

लक्ष्य भन्दा धेरै रकम कबोल हुँदा निकै उत्साहित छौं

– रवि कोइराला, अध्यक्ष, रिजउड नेपाली समाज, न्युयोर्क

तपाईहरुले लक्ष्य राखेको भन्दा धेरै रकम संकलनको घोषणा हुँदा कस्तो लागिरहेको छ ?

यसबाट हामी निकै उत्साहित छौं । हामीले एक मिलियन डलर संकलनको लक्ष्य राखेका थियौं । तर न्युयोर्कबासी र अमेरिकाबासी नेपालीहरुले स्वतस्फूर्त सहयोग गर्नुभयो । यसबाट हामी नेपालीहरु एकजुट भएमा जुनसुकै काम पनि सक्षमताका सार्थ गर्न सक्छौं भन्ने देखियो ।

प्रतिबद्धता भए अनुशार रकम संकलन होला त ?

रकम संकलनका लागि सजिलो त छैन । तर त्यसका लागि हामीले टिम बनाएर काम गरिरहेका छौं । त्यसैले संकलन हुनेमा आशंका छैन । समयमै रकम संकलन हुनेमा विश्वस्त छौं ।

अब दुईबर्षमा सांस्कृतिक केन्द्र बन्ने भयो त ?

अब दुईबर्षमा सांस्कृतिक केन्द्र बनाउन सम्भव हुने भयो । हामी पैसाका कारणले रोकिएका थियौं । तर अब सार्वजनिक रुपमा नै प्रतिबद्धता आएकाले हामी निकै उत्साहका साथ लागिपरेका छौं । हामीले हाम्रो घोषणा पूरा गर्नेछौं ।

सांस्कृतिक केन्द्र सबैको साझा बनाउन के गर्नुहुन्छ ?

रिजउड नेपाली समाजले पहल गरेपनि यो अमेरिकामा बस्ने सबै नेपालीहरुको हो । त्यसमा हामी निश्चिन्त हुनुपर्छ ।

अन्त्यमा दाता, महापुराणमा उपस्थीत र अमेरिकामा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

मसँग उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्ने शब्द छैन । म उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु र नमन गर्न चाहन्छु । सबैले आफ्नोपन महसुस गर्दा म निकै हर्षित र उत्साहित छु । सबैलाई एकमुष्ठ रुपमा बधाई समेत ज्ञापन गर्न चाहन्छु ।

 

सांस्कृतिक केन्द्रको आवश्यकता अझ टड्कारो महसुस भयो

-राजेश भट्ट, संयोजक, महापुराण मुलसमिति

जुन उद्देश्यका साथ महापुराण आयोजना गर्नुभएको थियो , त्यो सफल भयो त ?

हामीले लक्ष्य राखेभन्दा धेरै रकमको प्रतिबद्धता आएको छ । यो हाम्रो समुदायबाट आएको निकै सकारात्मक रेस्पोन्स हो । हामीले यो रकमलाई निकै उत्साहित रुपमा लिएका छौं । नेपाली समुदायले नेपाली मन्दिर र सांस्कृतिक केन्द्रको आवश्यकता एकदमै टड्कारो रुपमा महसुस गरेर सहयोग गरेको अनुभव भएको छ । त्यही अनुशार हामीले काम अगाडि बढाउनेछौ । हामीले सोंचेको भन्दा धेरै राम्रो भयो । हामीले अहिले बेसमेन्ट र पहिलो तल्ला बनाएर नेपाली मन्दिर र सामुदायिक केन्द्रको निर्माण गर्ने भनेका थियौं । तर त्यसलाई परिमार्जित गरेर तीन तला बनाउन सकिन्छ कि भनेर छलफल गरिरहेका छौं ।

महापुराणमा दबाब सृजना गरेर रकम कबोल गराइएको त होइन ?

त्यसरी बलजफ्ती कबोल गराइएको छैन । सबै भक्तजनहरुले आफ्नो इच्छाले नै दिनुभएको जस्तो लाग्छ । दबाब सृजना गरेर केही कार्य भएको छैन । हामीले सोचेको भन्दा धेरैको उपस्थीति भएको छ । जुन निकै उत्साहपूर्ण रह्यो ।

पहिले नै भवन निर्माण गर्ने भनिएको थियो । तर अब ढिलाई हुँदैन भन्ने कुराको सुनिश्चितता कसरी व्यक्त गर्नुहुन्छ ?

अब ढिलाई हुँदैन । किनभने हाम्रो नयाँ बोर्ड आउनासाथ नै यो पहल थालेका हौं । हामीले डिजाइन गरेर नक्सा लगभग तयार भइसकेको छ । त्यसमा हामी केही परिमार्जन गर्दैछौं । हामीले रकम नहुदै पनि यो काम अगाडि बढाउन पहल थालेका थियौं । आधा काम सकिएको छ । निर्माणको प्रकृया अगाडि बढिसकेकाले यो दुईबर्षभित्र बन्ने कुराको आश्वस्त पार्न चाहन्छु ।

खसोखास साप्ताहिक बर्ष ६ अंक ३०, पूर्णांक २८१ भदौ १६ – २२ शुक्रबार प्रकाशित ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com