दक्षिण अमेरिकाको अमेजन नदिमा पाइने माछा मोरङमा भेटियो , कसरी आयो नेपालमा ?


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थाल्नुभएको थियो ।

पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उहाँहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गर्नुभयो ।

यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्तरीय मानिएको क्यू टु उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ ।
हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बूले भन्नुभयो, “यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ ।

कि कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ”, उहाँले भन्नुभयो, “जताबाट आएपनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ ।

यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।”

उहाँका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । “सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, सङ्ख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न”, लिम्बू भन्नुहुन्छ,“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ ।

यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।” यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिइरहनुभएको छ ।

अनुसन्धानकर्ताहरुले लेखमा भन्नुभएको छ,“यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।” तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब २ सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com