न्युयोर्क सिटीको कोरोना पार्कमा दम्पतीले भेट्टाए एकलाख डलर, के यो नगद आफैले राख्न पाउनेछन्?


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

three stacks of one hundred dollar bills on a tile floor

न्युयोर्कको क्वीन्सको कोरोना पार्कमा चुम्बकबाट पानीमा भएको धातुजन्य फोहोर सफा गरिरहेका एक दम्पतीले १ लाख डलर भेट्टाएका छन् । उनीहरुले पानीमा चुम्बक फ्याकेर धातुजन्य फोहोर निकाल्ने क्रममा एउटा धातुको सेफ फेला पारेका थिए, जसलाई खोलेर हेर्दा झण्डै १ लाख डलर नगद रहेको थियो ।

जेम्स केन र बार्बी अगोस्टिनीले एकबर्षदेखि शौकका रुपमा चुम्बकको प्रयोग गरेर पानीमा रहेका धातुजन्य बस्तुहरु निकाल्दै आएका थिए । तिनीहरूले कोरोना महामारीको समयमा चुम्बकको प्रयोगबाट धातु निकाल्ने आईडिया निकालेका थिए ।

उनीहरुले त्यसका भिडियोहरु लेट्स गेट म्याग्नेटिक नामको युट्यब च्यानलमा राख्दै आएका छन् । तिनीहरूले चुम्बकको प्रयोग गरेर पानीबाट ह्यान्डगनदेखि ग्रेनेडहरू सम्मका बस्तुहरु निकालेका छन् । पूराना साइकलहरु लगायतका अन्य धातुजन्य फोहोरहरु त सामान्य कुरा हुन् ।

उनीहरुले ब्रुकलिनमा एउटा ग्रेनेड भेट्टाएका थिए भने संयुक्त राष्ट्र संघको भवनको छेउमा ग्यान्ट्री प्लाजा स्टेट पार्कमा अर्को ग्रेनेड भेट्टाएका थिए । सम्पूर्ण पाँच बरोहरूमा उनीहरुले बन्दुकहरु भेट्टाइसकेका छन् ।

उनीहरूको यो अनौपचारिक मनोरञ्जनले जीवन नै परिवर्तन गर्ने खोजमा पुर्‍याउनेछ भनेर उनीहरूले सोचेका थिएनन् । दुवैले शुक्रबार दिउँसो कोरोना पार्कको मीडो तालमा चुम्बक फ्याकेर धातुजन्य बस्तुहरुको खोजी गरिरहेका थिए । चुम्बकलाई पानीमा यताउता फ्याँकेको करिब ४५ मिनेटपछि केनले भारी सामान टाँसिएको महसुस गरे । त्यसपछि उनले गहिरो गहिराइबाट पुरानो, खिया लागेको बाकस बाहिर निकाल्न सफल भए।

पुराना बाकसहरु फेला पारेको यो पहिलो घटना थिएन । त्यसैले उनीहरुले बाकसभित्र केही फेला पार्ने आशा गरेका थिएनन् । तर बाकसभित्र प्लाष्टिकमा प्याक गरिएका नोटका बिटाहरु भेटिए । उनीहरुले त्यपछि न्युयोर्क प्रहरीलाई सम्पर्क गरे । न्युयोर्क प्रहरीले उनीहरूलाई भेट्टाएको उक्त रकम राख्न अनुमति दिएको छ किनभने बाकसमा कुनै क्रम संख्या छैन भने मालिकलाई चिन्न सक्ने कुनै तरिका पनि छैन।

सामान्यतया न्युयोर्क सिटीमा १० डलर वा सोभन्दा माथिको नगद वा अन्य सामाग्री फेला परेको खण्डमा प्रहरीलाई जानकारी दिनुपर्ने र बुझाउनुपर्ने प्रावधान रहेको छ । तर यो मामिलामा मूल्य र प्रामाणिकता पुष्टी गर्न नसकिने भएकाले भेट्टाएका व्यक्तिलाई नै राख्न दिइएको न्युयोर्क प्रहरीको भनाई छ ।

उनीहरुले बिग्रिएको डलर वाशिंगटन, डीसीको ब्यूरो अफ इन्ग्रेभिङ एण्ड प्रिन्टिङमा लैजाने योजना बनाएका छन् । त्यहााबाट उनीहरुले बिग्रिएको डलर बराबरको नगद प्राप्त गर्नेछन् । उनीहरुले आफ्नो पाँच जनाको परिवारको लागि न्युयोर्क सिटीमा घर किन्ने जीवनभरको सपना पूरा गर्ने आशा राखेका छन् ।

के न्युयोर्कमा भेटिएको रकम आफूले राख्न पाइन्छ?

यदि तपाईंले न्यूयोर्क राज्यमा हराएको नगद फेला पार्नुभयो भने के तपाईं आफूसँग राख्न सक्नुहुन्छ ? यदि तपाईंले पैसाको झोला फेला पार्नुभयो भने के तपाईंले प्रहरीलाई बुझाउनुको सट्टा आफैसँग राख्ने निर्णय गर्न सक्नुहुन्छ ? यसबारे कतिपयलाई जिज्ञासा हुनसक्छ । तर न्युयोर्कको कानून तपाईले नगद फेला पार्नुभयो भने तपाईले के गर्नु पर्छ भन्ने बारे धेरै स्पष्ट छ। न्युयोर्क राज्यको कानून अनुशार २० डलरभन्दा धेरै रकम भेटिएको खण्डमा आफूसँग राख्नु गैरकानूनी हुन्छ । न्युयोर्क सिटीमा यसको थ्रेसहोल्ड १० डलर छ ।

कानूनमा प्रष्ट भनिएको छ – ‘बीस डलर वा सोभन्दा बढी मूल्यको हराएको सम्पत्ति फेला पार्ने व्यक्तिले दश दिनभित्र त्यसको मालिकलाई फिर्ता गर्ने वा त्यस्तो फेला परेको जानकारी दिने र त्यस्तो सम्पत्ति फेला परेको सिटीको प्रहरीलाई बुझाउने गर्नुपर्छ । सार्वजनिक भवन ऐनको दफा २ मा उल्लेख भए बमोजिम सार्वजनिक भवन वा जग्गामा भेटिएको रकम उक्त भवनको सुरक्षालाई पनि जिम्मा लगाउन सकिनेछ ।’

यदि मालिक चिनिएको छैन भने यसलाई फेला पारेको १० दिन भित्र प्रहरीमा बुझाउनुपर्छ। यदि तपाईंले शहर बाहिर कुनै पनि हराएको वस्तुहरू फेला पार्नुभयो भने तपाईंले यसलाई राज्य प्रहरी वा राज्य पार्क प्रहरीलाई बुझाउन सक्नुहुन्छ। तपाईंले लस्ट एण्ड फाउण्ड अफिस वा सुरक्षा कार्यालयमा पनि फर्काउन सक्नुहुन्छ । यदि तपाईंले हराएको वस्तु फिर्ता नगर्ने निर्णय गरेमा तपाईंलाई दुराचारको आरोप लाग्न सक्छ ।

प्रावधानहरूको पालना गर्न अस्वीकार गर्ने वा जानाजानी बेवास्ता गर्ने व्यक्तिलाई दुराचारको दोषी ठहराइने तथा त्यसको पुष्टि भएमा एक सय डलरभन्दा बढी जरिवाना वा छ महिनासम्म जेल सजाय वा दुबै सजाय हुनसक्ने प्रावधान छ । उचित च्यानलहरू मार्फत नगई भेटाएको पैसा आफैसँग राख्नाले तपाईंलाई न्युयोर्क राज्यमा धेरै समस्या पर्नसक्छ । प्रतिक्षा अवधि बितिसकेको छ र सही मालिक फेला परेको छैन भेट्टाउने व्यक्ति पनि उक्त रकमको हकदार हुन सक्छ ।

एकसय डलरसम्मका लागि प्रतिक्षा अवधि ३ महिना रहेको छ भने १ सयभन्दा माथि र ४९९ डलरसम्मका लागि ६ महिना रहेको छ । ५ सयदेखि ४ हजार ९ सय ९९ डलरसम्मका लागि प्रतिक्षा अवधि एकबषएको रहेको छ । ५ हजार डलरभन्दा माथिको हकमा प्रतिक्षा अवधि ३ बर्षको रहेको छ । यो प्रतिक्षा अवधिमा पनि रकम दावी गर्न कोही नआएमा यो रकम भेट्टाउने व्यक्तिलाई नै दिने प्रावधान छ ।

कभर तस्वीर सांकेतिक मात्र हो । फोटो: मारेक स्टडज़िंस्की

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com