फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

बोगोटा (कोलम्बिया), १७ भदौ । कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले शुक्रबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन् ।

लामो समयदेखि लगातार सामाजिक न्यायका लागि लडिरहेको फर्कका पुर्वलडाकूहरुले हिंसाको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा परिणत गरिएको घोषणा गरेका छन् ।

“सुरु सुरुमा फार्कलाई नकारात्मक रूपमा हेरिन्थ्यो, तर हाम्रो विगत क्रान्तिकारी र एतिहासिक छ,” पुर्व विद्रोही नेता तथा प्रवक्ता इभान मार्कक्वाजले पत्रकारहरुसँग भन्नुभयो । त्यो द्वन्द्व अव भने राजनीतिक क्षेत्रमा हुने उहाँको भनाई छ ।

उनीहरूले अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपान्तरण गर्नुपरेको बताएका छन् ।

पार्टीको घोषणा गर्न आयोजित राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार २०० पूर्व लडाकूहरु जम्मा भएका थिए ।

अहिलेका राष्ट्रपति जोन म्यानुएल सान्तोषको नेतृत्वमा कोलम्बियामा शान्ति प्रक्रिया अगाडी बढेको हो ।

सान्तोष र विद्रोहीका नेता लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो शान्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको छ ।

कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ । शान्ति सम्झौतापछि कोलम्बियामा झण्डै पाँच दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com