मुग्लिन-नारायणघाट यात्राको सास्ती कहिलेसम्म?
प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

दशैं, तिहार, छठ जस्ता प्रमुख चाड नजिक आइसकेका छन्, तर देशको तराई-पहाड छिचोल्ने एक प्रमुख मार्ग, नारायणघाट-मुग्लिन सडक भएर यात्रा गर्नु पर्ने यात्रीहरु ढुक्क हुने स्थिति कहिले बन्ला?
-
.
नारायणघाट-मुग्लिन सडकबाट दिनमा सयौं सवारी साधन गुड्ने गर्दछन्। ३६ किलोमिटर लामो यो सडकखण्डले तराईको पूर्व-पश्चिम र पहाडको पृथ्वी राजमार्गलाई जोड्दछ। तर साढे दुई वर्षअघि थालिएको यो सडकको स्तरोन्नती गर्ने काम अझै सकिएको छैन। दुई वर्ष भित्र काम सक्ने भनिएपनि मध्य भदौसम्म जम्मा ५३ प्रतिशत काम मात्र सकिएको आयोजनाले जनाएको छ। (तस्वीरहरु: नारायणघाट-मुग्लिन सडक आयोजना र ईश्वर जोशी; शब्द: सुरेन्द्र फुयाल)
-
.
नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि जलबिरेको पहाडी खण्डमा जाने पहिरोले सवारी आवागमनमा असर पार्ने गरेको छ। यो वर्षायाममा पहिरोका कारण यात्रुले निकै सास्ती भोगिसकेका छन्। सो अवस्थामा तत्कालै सुधार हुने सम्भावना छैन।
-
.
नारायणघाट-मुग्लिन सडक २०३६ सालमा चिनियाँ सहयोगमा निर्माण भएको गोरखा-नारायणघाट सडकको एक खण्ड हो। यो सडक सुधार आयोजनामा करिब ३ अर्ब रुपैंयाँ खर्च हुँदैछ। आयोजनाको लक्ष्य नारायणघाट-मुग्लिन सडकको ३३ किलोमिटर खण्डको स्तरोन्नती गरी एसियाली मापदण्डको बनाउनु भनिएको छ।
-
.
नेपालको उत्तरी छिमेकी चीन, तिब्बतको सीमावर्ती कोदारीदेखि काठमाण्डू हुँदै नारायणघाट पुग्ने सडक एसियाली राजमार्ग सञ्जालमा सूचिकृत छ। कोदारी-काठमाण्डू जोड्ने अरनिको राजमार्ग, पृथ्वी राजमार्गको काठमाण्डू-नौबिसे-मुग्लिन र मुग्लिन-नारायणघाट खण्डलाई एसियाली राजमार्गको ‘एएच-४२’ अन्तर्गत राखिएको छ। आयोजनाका अनुसार सडकलाई एसियाली मापदण्डको बनाउने क्रममा सडकको चौडाइ बढाएर पहाडी भेगमा ९ मिटर र तराईको समथर भूभागमा ११ मिटर फराकिलो बनाइँदैछ।
-
.
स्तरोन्नती गर्ने काममा भएको ढिलाइका कारण सो सडक खण्डमा दुर्घटनाको जोखिम कायमै छ। ट्राफिक कार्यालय चितवनका अनुसार यो खण्डमा २०७१ साल चैतयता ८० वटा सवारी दुर्घटनामा ७३ जनाको ज्यान गइसकेको छ। सो अवधिमा भएका दुर्घटनामा १७७ जना घाइते भएको र १४ जना बेपत्ता भएको बताइएको छ। करिब एक वर्षअघि सडकबाट एउटा बस नदीमा खस्दा २५ जनाको ज्यान गएको थियो। ६ जना बेपत्ता भएका थिए।
-
.
आयोजनाले नारायणघाट-मुग्लिन सडकमा पर्ने १८ वटा पुललाई समेत चौडा पार्दैछ। ती मध्ये अहिलेसम्म चारवटा पुलको निर्माण पूरा भएको तर १४ वटाको ‘डिजाइन’ अर्थात खाका तयार हुँदै गरेको आयोजनाका सूचना अधिकारी शिव खनालले बीबीसीलाई बताए। सडकको व्यस्तता र कठिन भूगोलका कारण ढिलाइ भइरहेको प्राविधिकहरु बताउछन्।
-
.
हालै नारायणघाट-मुग्लिन सडक विस्तार कार्यको अवलोकन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीहरुलाई सडक स्तरोन्नती गर्ने काम छिट्टै सक्न निर्देशन दिएका थिए। तर सडक विस्तारको क्रममा खासगरी उत्तरतिरको पहाडी भेगमा पहाड काट्नु पर्ने भएकोले कठिन भूबनौटका कारण ठाउँ-ठाउँमा पहिरो जाने क्रम बढेको आयोजनाको भनाइ छ।
-
.
नारायणघाट-मुग्लिन सडक आयोजनाले विस्तार भइरहेको सडक खण्डमा २९ वटा पहिरोग्रस्त क्षेत्र रहेको बताएको छ। ती मध्ये मुग्लिनदेखि जलबिरेको पहाडी क्षेत्रमा २१ स्थानमा पहिरोको जोखिम कायमै रहेकोले यात्रु तथा चालकहरु सावधान रहनु पर्ने आयोजनाको भनाइ छ। निर्माण भइरहेको खण्डमा दुर्घटनाको जोखिमबारे सवारी चालकलाई सावधान गराउन नसकेको आरोप आयोजनाले खेप्ने गरेको छ।
-
.
सरकारले आयोजनाको अवधि फागुनसम्मलाई थपिदिएको छ। तर आयोजनाले त्यो अवधिमा काम सक्न सम्भव नहुने र २०७५ सालको असार अर्थात् अबको १० महिनासम्ममा आयोजना पूरा हुनसक्ने बताएको छ। तर अझै पुलहरुको खाका अर्थात् ‘डिजाइन’ बन्दै गरेकोले आयोजना पूरा हुन अझै निकै समय लाग्न सक्ला कि भन्ने आशंकालाई बल दिएको छ।
-
.
नारायणघाट-मुग्लिन सडक विस्तारको क्रममा सडक प्रयोगकर्ताहरुले जोखिम र अनेक प्रकारका झन्झट एवं सास्ती भोग्नु परिरहेको छ। त्यो क्रम अझै केही महिना चल्ने निश्चित छ। सडक सुरक्षाविद्हरुले चाहिँ चालक तथा सडक प्रयोगकर्ताहरुलाई पहिरोको जोखिम रहेको नारायणघाट-मुग्लिन र अन्य सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। (तस्वीरहरु: नारायणघाट-मुग्लिन सडक आयोजना र ईश्वर जोशी; शब्द: सुरेन्द्र फुयाल)
Source : BBC Nepali